
तानसेन। गएरातिदेखि परेको अविरल वर्षासंगै पहिरो खस्दा पाल्पाको तानसेनमा चार घरमा क्षति पुगेको छ । पहिरोका कारण सो क्षेत्रका अन्य घरहरु जोखिममा रहेका छन् ।
तानसेन नगरपालिका वडा नंं ३ स्थित भगवती टोलका सेमन्त रानाको घरभित्र लेदोसहितको पहिरो पसको हो। यस्तै सोही घरसंग दाया र बायाँ जोडिएका ऋषिराम न्यौपाने, बेदप्रसाद कोइराला र शिव मल्लको घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
व्र्षासंगै माथिल्लो भागबाट पानी र लेदो खसेर घरभित्रैसम्म पहिरो पसेको सेमन्त रानाले बताए। माथिल्लो भागबाट श्रीनगरसहित अन्य टोलको भल जम्मा भएर पहिरो खसेको उनले बताए।
पहिरो खसेको भागको वरिपरी पनि चर्केको हुँदा सो क्षेत्रका अन्य घरहरु पनि जोखिममा रहेका छन् । भलको उचित व्यवस्थापन हुन नसक्दा पहिरो खसेको नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार र तीनै तहको सुरक्षा निकायसंग स्थानीयसमेत पहिरो पन्छाउने कार्य जारी छ । एक तलासम्म पहिरोले भरिएको हुँदा पहिरो पन्छाउन समय लाग्ने सुरक्षाकर्मीले बताएका छन् ।
पहिरो खसेको माथिल्लो भागमा विद्युतको ट्रासमिटर रहेको र पानी पर्नासाथ पुनः पहिरो खस्ने जोखिम रहेको हुँदा ट्रासमिटर हटाउने तथा तत्कालका लागि भल व्यवस्थापनको काम जारी रहेको वडाध्यक्ष बाबुरत्न शाक्यले जानकारी दिए।
भलको उचित व्यवस्थापन गरी दीर्घकालिन रुपमा समस्या समाधानका लागि पहल गरिने नगरपालिकाले जनाएको छ ।