तानसेन। कालीगण्डकी करिडोर अन्तरगत पाल्पा खण्डको आधा दर्जन बढी स्थानमा वर्षाका कारण सडकमा क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पीपलडाडाँ रामपुर हुँदै गैडाकोट खण्ड तथा राम्दी, रानीमहल र रानीमहल अर्गली सडक खण्डको विभिन्न स्थानमा वर्षाका कारण पहिरो खस्ने, नाली पुरिने, सडक भासिने भएर सडकमा क्षति पुगेको हो।
कालीगण्डकी करिडोर आयोजना (गैडाकोट, राम्दी, मालढुङ्गा) खण्ड अन्तरगत पाल्पा खण्डको हुँगी, अर्सेदी, अर्गली, रामनीमहल, मद्रान, दर्पुकलगायतका स्थानको सडकमा वर्षाले क्षति पुर्याएको आयोजनाका इन्जिनियर शिवशरण तिमल्सिना जानकारी दिए।
केही स्थानमा वर्षासंगै पहिरो खसेर सडक अवरुद्ध समेत हुँदै आएकोमा तत्काल पहिरो हटाएर सवारी संचालनको पहल गरिएको आयोजनाले जनाएको छ ।
यस्तै वर्षाका कारण भएको क्षति भएका स्थानमा वर्षा सकिएपछि मर्मत र एकतर्फी भएका स्थानको सडकमा दुईतर्फी रुपमा संचालनका लागि पहल गरिने आयोजनाले जनाएको छ ।