साउनको अन्तिम सोमबार : पाल्पाका शिवालय धामहरुमा भक्तजनको भीड

तानसेन। साउन महिनाको अन्तिम सोमबार आज पाल्पाका शिवालय धामहरुमा भक्तजनको बाक्लो उपस्थिती रहेको छ । हिन्दु धर्मावलम्बीहरुले साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले व्रत बसी भगवान शिवको पूजापाठ गर्न भीड लागेका हुन् ।

पाल्पाको बगनासकाली-८ बराङ्दीमा रहेको शिद्धबाबा मन्दिर र महामृत्युञ्जय शिवासन धाम, तानसेनस्थित बद्रेश्वर शिवासन धाम, तिनाउस्थित सिद्धबाबा मन्दिरलगायतका स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको हो।

दर्शनार्थीले पवित्र नदी, ताल, कुवाबाट जल लगेर शिवालय र शिवलिंगमा चडाउने। बेलपत्र आदीले पूजा गर्ने गर्दछन् । साउनको सोमबारमा गरिने शिवको व्रत विशेष फलदायी हुने हुँदा युवतीदेखि वृद्धाहरुले व्रत बसी भगवान शिवको पुजा आरधना गर्दै आएको श्रद्धालुको भनाइ छ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस्तै विवाहित महिलाले पतिको दीर्घआयु र अविवाहित महिलाले असल र योग्य पति प्राप्तिका लागि पनि व्रत बसी भगवान शिवको आरधना गर्दै आएको बताएका छन् ।

साउन महिनाभर माछामाछु नखाने, भगवान शिवको नित्य पूजा गर्ने र सोमबारको दिन उपवास बस्ने प्रचलन पनि छ । उपवास बस्नले भगवानको आस्थासंगै स्वास्थ्यलाईसमेत राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया