पाल्पाका दुई युवामा औलो संक्रमण

तानसेन। पाल्पाका दुई जना युवामा औलो रोग संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रोजगारीको सिलसिलामा भारतबाट फर्किएका दुई जना युवमा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा तानसेन नगरपालिका –११, भालुवनका २३ वर्षीय युवा र बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय युवक रहेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईका अनुसार भालुवनका युवकलाई गत साउन ४ गते पाल्पा अस्पतालमा उपचारको क्रममा औलो पुष्टि भएको थियो । उनको उपचारपछि घर फर्किएका छन् ।

यस्तै साउन २८ गते मलेरियाको लक्षण देखिएका पोखराथोकका युवकमा आरडिटी जाँच गर्दा पोजेटिभ नतिजा आएको हो । उनी एक महिनाअघि मात्रै भारतबाट नेपाल आएका थिए ।

गत वर्ष जिल्लामा स्थानीय एकसहित ६ जनामा औलो संक्रमण पुष्टि भएको थियो । जसमध्ये रामपुर र तानसेन २।२ जना माथागढी र पूर्वखोलामा १।१ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय पालपाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए । औलोको जाँचका लागि जिल्लाका सबै स्वाास्थ्य संस्थामा आरडिटी कीटको व्यवस्था गरिएको छ । गत वर्ष पूर्वखोलामा स्थानीय जातको लामखुट्टेबाट संक्रमण पुष्टि भएको थियो ।

औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो रोगको रोकथामका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाएर रहेको र संक्रमण पुष्टि भएमा नेपाल सरकारले निःशुल्क औषधिको व्यवस्था मिलाएको छ ।

तपाईको प्रतिक्रिया