पाल्पा । जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । जनैपूर्णिमाको दिनमा रक्षाबन्धन बाध्ने चहलअनुसार यही दिनमा क्वाटी खाने प्रचलन बसेको हो।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउने गरेका छन् । यरी राखी बाध्नाले दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेको छ । भारतबाट प्रचलनमा आएको राखी बाध्ने प्रचलन विस्तारै पहाडि भेगहरुमा पनि बढेको छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लागैकाे छ ।
नेवारी समूदायको बसोवास भएका जिल्ला र स्थानहरुमा भने लाखे नाच, चुइकीलगायतका प्रस्तुति पनि आजैबाट सुरु हुने गर्दछ। पाल्पामा पनि गाईजात्रा निकाल्ने अघिल्लो दिन बेलुका चुइकी फिराई निकाल्ने प्रचलन रहेको छ ।



