पाल्पामा निकालियो रोपाइँ जात्रा

तानसेन।  रोपाइँ सकेपछि हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मौलिक पर्व रोपाइँ पाल्पामा पनि मनाइएको छ । सांस्कृतिक पर्वका रुपमा पाल्पाका विभिन्न स्थानमा निकालिने यो जात्रा यस वर्ष भने तानसेन, बगनासकाली, रम्भा र रामपुरमा निकालिएको छ ।

सडकमा असारे भाका र पन्चेबाजाको तालमा गीत गाउँदै नाच्दै, हलगोरु, बाउसे र रोपारीसहित रोपाइँको झल्को मेटाउँदै यो जात्रा निकालिन्छ । वर्षे धान रोपाइँ सकेपछि किसानले खुसियालीका रुपमा यो पर्व मनाउन सुरु गरेको पाइन्छ ।

विगतमा दर्जनबढी स्थानमा निकालिने यो जात्रालाई रोपाइँ सकेपछि मनोरञ्जन गर्ने पर्वका रुपमा समेत लिने गरिन्थ्यो । तर, पछिल्ला वर्षहरुमा मनोरञ्जनका साधनमा भएको विकास र जात्रा निकाल्न धेरै खर्च लाग्ने तथा गाउँमा युवा पुस्ता नहुनाले जात्रा निकाल्न समस्या हुँदै आएको स्थानीयले बताएका छन्।

तानसेन ५ को धरमपानी, बगनासकाली ६ खानीगाउँ, रम्भाको हुँगीर रामपुरमा यो जात्रा निकालिएको छ । केही युवा र समूहले संस्कृति जोगाउनका लागि पहल गरी जात्रा निकाल्ने गरेको तानसन नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी विश्वकर्माले जानकारी दिइन् ।

नगर सरकारले केही मात्रामा जात्रालाई सहयोग गरेपनि जात्रा निकाल्न निकै खर्चिलो हुने हुँदा सहयोग बढाउनुपर्ने स्थानीयले बताएका छन् ।
खेतमा काम गरेर थाकेका कृषकलाई मनोरञ्जन दिन निकालिने यो जात्रा अहिले संस्कृति बन्दै आएको छ ।

अहिले यसको महत्व बढेको भएपनि यसको संरक्षण गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने जात्राका सहभागीले बताएका छन् ।

तपाईको प्रतिक्रिया