तानसेन। बिहीबार श्रीनगर श्री सात सिद्धिविनायक गणेशको रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै रोपाइँजात्राको राति जागराम बसी भोलिपल्ट निकालिने रथ यात्रा विहीबार बजार परिक्रमा गरी निकालिएको हो ।
श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजासहित गणेशको रथलाई बजार परिक्रमा गराएको छ । रथमा राखिएको भगवानलाई बाटोमै पूजा गर्ने प्रचलन छ । नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिएको गुठीले जनाएको छ ।
गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको जानकारहरु बताउछन् । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने प्रचलन सुरु भएको गुठीयार हिमालदत्त श्रेष्ठले बताए ।
गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरु गरेपनि पछिल्ला वर्षहरुमा अन्य परिवार बसाइसरी गएपछि श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् ।
तानसेनमा श्री सात सिद्धिविनायक गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ ।

