तानसेन। यस वर्षको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका हुन् ।
भगवती गुठीका अनुसार भगवती मन्दिरमा पूजा आराधना र रथयात्राको अवलोकेनका लागि लागि राष्ट्रपति पौडेलको उपस्थिती हुने भएको हो । नेपाल–अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा (भगवतीको रथ यात्रा) निकाल्दै आइएको छ।
यस पटक १०५ औं रथ यात्रा निकाल्ने तयारी जारी छ । तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको हो ।
युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको इतिहासमा उल्लेख छ । कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए ।