सुख्खा पहिरोले विद्यार्थी र स्थानीयलाई आवतजावतमा समस्या

तानसेन।  सुख्खा पहिरो खसेपछि पाल्पाको एक विद्यालय जोखिममा परेको छ भने, विद्यार्थी र स्थानीयलाई आवतजावतमा समस्या भएको छ । गत बुधबार सुख्खा पहिरो खसेपछि बगनासकाली ४ राम्दीस्थित राम माविको भवन जोखिममा परेको हो।

विद्यालयका प्रअ डोलराज बस्यालका अनुसार विद्यालयको माथिल्लो भागबाट सुख्खा पहिरो खसेर विद्यालयको शौचालयमा क्षति पुगेको छ । यस्तै टेवा पर्खाल समेत भत्किदा खेल मैदान र नाली पुरिएको प्रअ बस्यालले जानकारी दिए ।

विद्यालयको माथिल्लो भागबाट दैनिक ५० जनाबढी विद्यार्थी आवतजावत गर्ने गोरेटो बाटो पनि पहिरोसंगै खसेपछि विद्यार्थीलाई विद्यालय आउनका लागि लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । विद्यालयको माथिल्लो भाग कमजोर भूगोल रहेको हुँदा पुनः पहिरो खसेर अन्य संरचनामा पनि क्षति पुर्याउने जोखिम रहेको प्रअ बस्यालले बताए।

उता माथिल्लो भेगका स्थानीयले बजारसम्म पुग्ने सडकसमेत सोही गोरेटो बाटो रहेको र सो सडक नै पहिरोले लगेपछि स्थानीयवासीलाई बजारसम्म पुग्नका लागि समस्या भएको स्थानीयले बताएका छन् ।

भिरालो जमिनमा बनेको संरचना भएका कारण पनि विद्यायल जोखिममा परेका छ भने सडक विस्तार गर्दा थप पहिरो खस्ने जोखिम रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया