
तानसेन। हिन्दु नेपालीहरूको महान् चाड बडादसैं आजबाट सुरु भएको छ । बडादसैंको पहिलो दिन आज घटस्थापना गरी जमरा राखिएको छ । दशैं पर्व मनाउने सबैले दर्गा, मन्दिर, कोतघर तथा आ–आफ्नो घरमा विधिपूर्वक घटस्थापना गर्ने प्रचलन रहेको छ । घटस्थापनाका लागि आज बिहान ९ः१६ बजे घटस्थापनाको शुभ साइत रहेको पञ्चा· निर्णायक समितिले जनाएको छ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतिक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।
जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । घटस्थापनाको अवसरमा दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिको पूजा आरम्भ हुन्छ ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीको टीकाको दिन पहेँलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ ।