
पाल्पा। नेकपा एमाले पाल्पाले आफ्ना जनसंगठनहरुलाई चलाएमान बनाउने तयारी गरेको छ । जस अनुरुप जनसंगठन समन्वय संयन्त्रको अन्तरक्रिया गरी सोको जानकारी दिइएको हो। जिल्लामा रहेका जनवर्गीय संगठनहरुको परिचालन र क्रियाशीलताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको बताइएको छ ।
अन्तरक्रियामा बोल्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुरप्रसाद गैरेले जनवर्गीय संगठन पार्टीको मेरुदण्ड भएको बताए। उनले जनसंगठनहरु आफ्नो विधान अनुसार अनुसाशित भएर चलायमान हुनुपर्ने बताए।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति तथा प्रतिनिधि सभा सदस्य समेत रहेका गैरेले जनसंगठनहरुले कार्यक्रम गर्दा पार्टीको नीति, सिद्धान्त र पछिल्लो पटक निर्माण गरेको निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनालाई टेकेर गर्नुपर्नेमा जोड दिए।
एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पार्टी बलियो बनाउन सबै जनसंगठनको उतिकै महत्वपूर्ण भूमिका रहेको बताए। उनले विषयगत जनसंगठनहरु आफ्नौ क्षेत्रमा रहेका समस्या पहिचान र समाधानका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए।
अन्तरक्रिया कार्यक्रमको उद्देश्य माथि नेकपा एमाले पाल्पाका अध्यक्ष तथा जिल्ला जनसंगठन समन्वय संयन्त्रका संयोजक ओमबहादुर घर्तीमगरले प्रकाश पारेका थिए। उनले एमालेका जनसंगठनको सक्रियताका कारण नै जिल्लामा पार्टी पहिलो राजनीतिक शक्ति भएको बताउँदै पार्टीको २३ जनसंगठन मध्ये पाल्पामा २२ वटा जनसंगठन सक्रियता रहेको जानकारी गराए।
संगठनहरुले काम गर्दा विषयत रुपमा देखिएका सम्भावना, भोग्नु परेका समस्या र चुनौतीका विषयमा जानकारी लिने र थप सक्रियताका साथ काम गर्ने योजना निर्माणका लागि कार्यक्रम गरिएको अध्यक्ष घर्तीमगरले बताए।
अन्तरक्रिया कार्यक्रममा सहभागी जनसंगठनका प्रमुख तथा इन्चार्जहरुले आफूहरुले सम्पादन गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । उनीहरुले पार्टीलाई कामका आधारमा जनताले चिन्ने वातावरण निर्माणका लागि पार्टी, जनप्रतिनिधि र जनसंगठनहरु एक भएर समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रमले जनसंगठनको अगुवाईमा जिल्लाको हरेक टोल र वस्तीसम्म सांगठनिक गतिविधिलाई तीव्र रुपमा संचालन गर्नुको साथै विकास निर्माणमा समेत सक्रिय सहभागिता जनाउने निर्णय गरेको एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्लेले जानकारी दिएका थिए ।