तिहारका सामग्री किन्नेको घुइँचो

तानसेन।  पाल्पा सदरमुकाम तानसेनमा तिहार पर्वका लागि आवश्यक सामग्री किन्ने मानिसको भीड लागेको छ । तिहार पर्व लागेसँगै भाइमसला, माला, रोटी तथा अन्य परिकार किन्ने मानिसको तानसेन बजारमा घुइँचो लागेको हो ।  सप्तरङ्गी टीका, भाइ मसला, तरकारी, खाद्यान्न सामग्री, माला, दाजुभाइ तथा दिदीबहिनीका लागि आवश्यक कोशेली खरिद गर्न उनीहरू तानसेन आएका छन् ।

तिहार लागेपछि भाइटीका र अन्य सामग्री बिक्री गर्न वर्षौदेखि यसको कारोबार गर्दै आएका भारतीय मूलका व्यापारी समेत तानसेन भित्रिने गरेका छन् ।

उनीहरूले तानसेनका विभिन्न स्थानमा बसेर सप्तरङ्गी टीका, ओखर, काजु, किसमिस, बदाम, मिठाइलगायतका सामग्री बिक्री गरेका छन् । यस्तै, तिहारमा झिलीमिली बत्तीको कारोबार बढेको छ । तिहार लाग्नासाथ झिलीमिली बत्तीको कारोबार बढेको तानसेनका व्यवसायीले बताएका छन्।

तिहार लागेपछि दाजुभाइ तथा दिदीबहिनीका लागि कोशेलीको रुपमा अत्यधिक प्रयोग हुने पाल्पाली ढाकाका सामानको समेत बिक्री बढेको छ । तिहारमा ढाकाका सल, टोली, पर्स, कुर्ता सुरुवाल कोशेली दिने प्रचलन रहेको छ । भाइटीकामा दिने कोशेली स्वरुप ढाकाका सामग्री किन्ने मानिस पसलमा आउन थालेको  उद्याेगी मनाेज पाैडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया