तानसेन। लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयको टोलीले पाल्पाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । निर्देशनालयका निर्देशक सारदा बस्यालको संयोजकत्व तथा पाल्पास्थित सरोकारवाला निकायको सहभागितामा जिल्लाका विभिन्न स्थानमा पसल तथा व्यवसायीको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले तानसेस्थित बासँटारी, बर्तुङ्ग, र रिब्दीकोटको भैरवस्थान आसपासका करिब २० वटा पसलको अनुगमन गरेको जनाएो छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरण नगरेको, मूल्यसूची नराखेको, म्याद नाघेका सामग्री समेत विक्रिका लागि राखेको जस्ता समस्या देखिएको अनुगमन टोलीका सहभागीले बताएका छन् ।
अनुगमन टोलीले व्यवसाय दर्ता, नविकरण र कानूनी मापदण्डमा संचालन गर्नुपर्ने विषयमा सचेत गराउनुका साथै अखाद्य र म्याद सकिएका घ्यूसहित केही थान पेय पदार्थ र खाद्य सामग्री जफत गरी नष्ट गरेको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक सारदा बस्यालका अनुसार नियमित बजार अनुगमन अन्तरगत पाल्पाका केही ठाउँमा अनुगमन गरी व्यवसायीलाई सचेत बनाइएको र मापदण्ड विपरित विक्री वितरण गरिएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको बताइन् ।
उनले निर्देशनालयले १२ वटै जिल्लामा अनुगमन गर्दै आएको बताउदै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले वर्षभरी नै अनुगमन गरी व्यवसायीलाई सजक तथा उपभोक्तालाई सहज बनाउने कार्य गर्दै आएको बताइन् ।
अनुगमनका क्रममा भैरवस्थानमा करिब ८ हजार बराबरको सामग्री जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।


