तानसेन। माडी भ्यू मिडियामा प्रकाशित समाचारको विषयवस्तुलाई लिएर नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्ष तथा माडी भ्यू मिडियाका अध्यक्ष पत्रकार विजय बौडेललाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गएराति करिब ११ बजे अज्ञात व्यक्तिले फोनमार्फत अपशब्द प्रयोग गर्दै पत्रकार बौडेललाई ज्यान मार्ने धम्की दिएका थिए ।
महासंघ पाल्पा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको कडा शब्दमा निन्दा गरेको छ। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु संवैधानिक तथा पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित समाचार वा भिडियो प्रति कुनै असहमति वा गुनासो भए कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्न सकिने अवस्थामा पत्रकारलाई व्यक्तिगत रूपमा धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र अस्वीकार्य कार्य भएको ठहर गरिएको छ। महासंघले यस्तो हर्कतलाई प्रेसविरोधी र गैरजिम्मेवार कदमका रुपमा लिएको छ।
पत्रकार बौडेलले उक्त घटनाबारे सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय, पाल्पामा लिखित उजुरी दिइसक्दा पनि हालसम्म दोषी व्यक्ति पक्राउ नपरेको प्रति महासंघले गम्भीर चासो व्यक्त गरेको छ।
विज्ञप्तिमार्फत धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न तथा आगामी दिनमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ। साथै महासंघले पत्रकार बौडेलको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न समेत सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।




