तानसेनमा स्थानीय तहसंग युवाको बहस

तानसेन। आज पाल्पाका पाँच स्थानीय तहका प्रमुख र अध्यक्षसंग युवाले प्रत्यक्ष रुपमा खुला सवाल गर्ने कार्यक्रम हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कात्तिक शुक्रबार साढे १ बजे पाल्पा दरबार संग्रहालय परिसरमा युवाको प्रश्न नेतृत्वसँग विषयक खुला बहस हुने आयोजकले जनाएको छ ।

स्थानीय सरकारलाई युवाको पक्षमा नीति निर्माणका लागि सहयोग पुग्ने गरी कार्यक्रम गर्न लागिएको जेसिजका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। स्थानीय सरकार बनेपछि जिल्लामै पहिलो पटक खुला बहसमार्फत स्थानीय सरकारलाई युवाको पक्षमा काम गर्न घच्घच्याउने प्रयास गरिएको उनले बताए।

कार्यक्रममार्फत सरकारले गरेका कामबारे युवामाझ जानकारी हुनेछ। त्यसपछि युवाले खुला रुपमा जिज्ञासा प्रश्न र सुझाव पनि दिने कार्यक्रम राखिएको अध्यक्ष कार्कीले बताए।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र रैनादेवी छहरा गाउँपालिाकाका अध्यक्ष रुक्मांगत भट्टराई स्थानीय तहका प्रमुखका रुपमा सहभागी हुनेछन् ।

स्थानीय सरकारलाई प्रश्न गर्न र सरकार प्रमुखलाई नागरिकप्रति जिम्मेवार बन्न कार्यक्रम फलदायी हुने हुँदा बताइएको छ । कार्यक्रमा प्रदेश र संघका लागि निर्वाचित जनप्रतिनिधिको पनि उपस्थिती रहेने बताइएको छ।

 

तपाईको प्रतिक्रिया