पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको समसामयिक विकासका सन्दर्भमा लगानी बोर्ड नेपालको भूमिकाबारे विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको दिगो विकासका लागि लगानी बोर्डको सहकार्यलाई थप प्रभावकारी बनाउने छलफल भएको हो ।
छलफल कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गाउँपालिकाको उत्पादन र सम्भावनालाई राष्ट्रिय रूपमा चिनाउन सकिने उल्लेख गर्नुभयो । ज्ञवालीले रिब्दीकोट गाउँपालिकाको खुर्सानी र सुन्तला उत्पादनले देशभरि चर्चा कमाएको बताउँदै यसलाई अझ व्यवस्थित रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ज्ञवालीले रिब्दीकोट गाउँपालिकाको समग्र विकासका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकामा भौतिक पूर्वाधार, कृषि, र पर्यटनका क्षेत्रमा दीर्घकालीन योजना अघि बढाउनुपर्ने आवश्यकता पनि उल्लेख गर्नुभयो ।
रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकोट गाउँपालिकाको विकास निर्माणमा योगदान पु¥याउने सबैलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघि रिब्दीकोट गाउँपालिकाको विकासमा खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि ज्ञवालीको सहयोग जारी रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष कार्कीले रिब्दीकोट गाउँपालिकाको विकासका लागि सबै पक्षको सहकार्य र एकताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय उत्पादन, भौतिक पूर्वाधार र योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले रिब्दीकोट गाउँपालिकाको समग्र विकास योजनाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। छलफलमा गाउँपालिकाको भौतिक पूर्वाधार, कृषि, पर्यटन, र रोजगारी सिर्जनामा लगानी बोर्डको भूमिकाको महत्त्वका विषयमा विशेष जोड दिए ।
कार्यक्रम रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीलाई स्वागत कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री लेखनाथ पोखरेल, सम्पूर्ण वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।