पाल्पा । नेकपा माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज नेत्र पाण्डेले प्रचण्ड सरकारको नेतृत्वमा गरिएका जनपक्षीय कार्यहरूले माओवादी पार्टीप्रति जनलहर सिर्जना भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) सम्बद्ध जबस/मोर्चाको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा पाण्डेले पछिल्ला दिनमा माओवादी पार्टीले उठाएका एजेन्डाहरूले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै पार्टीले फेरि जनआकर्षण बढाउने बताए । उनले पार्टी छाडेकाहरुलाई अहिले पछुतो लागेको दाबी गर्दै माओवादीमा पुन ः जोडिन चाहनेहरूको संख्या बढ्दै गएको बताए ।
पाण्डेले जनपक्षीय एजेन्डा र जनअपेक्षालाई प्राथमिकतामा राख्दै माओवादी पार्टीले आफ्नो संगठनलाई थप मजबुत बनाउने रणनीतिमा रहेको बताए ।
नेकपा माओवादी पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्माले माओवादीका जनवर्गीय संगठनहरूको सक्रियतासँगै पार्टी फेरि शक्तिशाली पार्टीका रूपमा उदय भइरहेको बताए । उनले जनवर्गीय संगठनहरूलाई संगठित र क्रियाशील बनाउँदै माओवादीले जनताको विश्वास जित्न सफल भएको दाबी गरे । विश्वकर्माले माओवादीका नीति, कार्यक्रम, र क्रियाकलापहरूले स्थानीयस्तरमा जनताको आकर्षण पुनः बढाउँदै पार्टीलाई बलियो आधार प्रदान गरिरहेको बताए ।
नेकपा (माओवादी केन्द्र) सम्बद्ध जबस÷मोर्चाको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाले जबस/मोर्चाका गतिविधिहरूलाई प्रभावकारी रूपमा समन्वय र सञ्चालन गर्न प्रदेश समिति सदस्य कृष्ण प्रसाद भुसाललाई जिल्ला संयोजकको भूमिका प्रदान गरेको छ । सदस्यहरुमा जबस/मोर्चाका अध्यक्षहरु रहने बताइएको छ । भेलामा सहभागीहरूले जबस/मोर्चाका संगठनात्मक गतिविधिहरूलाई अझ सुदृढ बनाउँदै स्थानीय तथा राष्ट्रिय मुद्दाहरूमा प्रभावकारी भूमिका खेल्ने विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पदम सोमैको सञ्चालन, सहिद प्रतिष्ठान पाल्पाकी संयोजक लिला सोमैको अध्यक्षता, र वाइसीएल पाल्पाका अध्यक्ष कमल श्रेष्ठको स्वागत मन्तव्यका साथ पाल्पामा जनवर्गीय संगठनहरूको विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनवर्गीय संगठनका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

