
तानसेन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाल्पाको जनवर्गीय मोर्चाका प्रमुखहरुको भेला तानसेनमा सम्पन्न भएको छ। भेलाले संगठनको प्रभाव विस्तार, आगामी गतिविधिहरूको तयारी र समसामयिक राजनैतिक परिस्थितिको समिक्षा गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
भेलामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्र पाण्डेले हालको राजनीतिक उतारचढाव र स्थानीय समस्या समाधानमा जनवर्गीय संगठनहरूको भूमिकालाई थप सशक्त बनाउने कार्यको थालनी गर्ने बताए।
माओवादी केन्द्रका संयोजक राजेन्द्र विकले प्रचण्ड सरकारले गरेका कामले जनलहर आएकोमा अब भ्रष्टाचार विरुद्धको कदममा सबै जनता लाग्नुपर्ने बताए।
पार्टी सचिव मथुरा ढकालले वडादेखि पालिकासम्म भेला र सम्मेलन गरेर पार्टी संगठन विस्तारको काम यो महिनाभित्र सक्ने गरि काम गरिने जानकारी दिए।
भेलामा बोल्दै अन्य नेता मोर्चाका संयोजकहरुले समाजवाद उन्मुख अर्थतन्त्र, सामाजिक न्याय र स्थानीय तहमा जनताको पहुँच वृद्धि गर्नका लागि आवश्यक नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। १७ वडा मोर्चाका पदाधिकारी सहभागी रहेको मेलाका सहभागीले संगठनलाई नीतिगत, संरचनागत र सैद्धान्तिक आधारमा बलियो बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएको थियो ।
भेलाले आगामी दिनमा समाजवादी परिवर्तनका लागि जनवर्गीय मोर्चाको सक्रियता बढाउने, स्थानीय तहमा समृद्धिको खाका तयार गर्दै जनतासँग सहकार्य गर्ने, सङ्गठनभित्र अनुशासन र एकतामा बल दिने जस्ता निर्णय गरेको छ।
कार्यक्रममा सहभागी नेताहरूले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरू, जनताको असन्तुष्टि समाधान र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छ्न।
यस्तै भेलाले सबै मोर्चाको नेतृत्व गर्नेगरी कृष्ण भुसाललाई संयोजक समेत तोकेको पार्टी सचिव मथुरा ढकाललले जानकारी दिए ।
सहिद प्रतिष्ठानकी संयोजक लिला सोमैको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका पाल्पा इन्चार्ज पदम सोमैले गरेका थिए ।