पाल्पा । रिब्दीकोट गाउँपालिका–७ मा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा र जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि., बतासेको समन्वयमा ४५४ घण्टे ढाका बुनाई तालिम बतासेमा सञ्चालन भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले प्राप्त सीपलाई पूर्ण रूपमा उपयोग गरी प्रशिक्षकको रूपमा स्थापित हुन तालिमले योगदान दिने विश्वास व्यक्त गरे । महिलाहरुलाई घरमा बसेर आम्दानी गर्न ढाका बुनाई सफल हुने अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले महिलाहरूलाई आत्मनिर्भर बनाउन ढाका बुनाइ महत्वपूर्ण सीप भएको बताइन । यो तालिमले स्थानीय महिलाहरूलाई आयआर्जन र स्वरोजगारको मार्ग खुलाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यालय प्रमुख श्याम कुमार पौडेलले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले जीवन परिवर्तनका लागि सीप आवश्यक हुनेमा बताए । कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष दानबहादुर कुवर, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उविस मनोज घिमिरे, सहकारी अध्यक्ष शिव बहादुर कुँवर प्रशिक्षक खड्क बहादुर बोहरा, सहकारीका प्रतिनिधिहरू र तालिमका सहभागीहरूको उपस्थिति थियो । कार्यक्रम रिब्दीकोट गाउँपालिका–७ स्थित रेडाको भवनमा सञ्चालन भएको छ ।