पाल्पा । जिल्लाको रिब्दीकोट ७, पालुङमैनादीमा पालुङ आयुर्वेद औषधालय, पालुङमैनादी स्वास्थ्य चौकी भवनको उद्घाटन तथा स्वास्थ्य प्रयोगशाला र एम्बुलेन्स सेवा शुभारम्भ भएको छ ।
रिब्दीकोट गाउँपालिकाले ग्रामीण क्षेत्रका जनताको प्राथमिक स्वास्थ्य सेवा, आयुर्वेदिक उपचार, प्रयोगशालामा परीक्षण र बिरामी परेका बेला स्वास्थ्य संस्थासम्म पुरयाउन एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकोट गाउँपालिकाले नागरिकहरूको आधारभूत स्वास्थ्य उपचार सहज रुपमा पूरा गर्न गाउँपालिका निरन्तर रुपमा लागिपरेको बताएका छन् ।
अध्यक्ष कार्कीले गाउँपालिकाले नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउन १५ स्वास्थ्य इकाईहरूबाट स्वास्थ्य सेवा प्रदान गरिएको बताए । पहिला ११ स्वास्थ्य इकाईबाट नागरिकलाई स्वास्थ्य सेवा दिदा अपायक परेको जनगुनासोका आधारमा १५ स्वास्थ्य इकाइबाट सेवा प्रवाह गरी आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार भएको अध्यक्ष कार्कीले बताए ।
स्वास्थ्य चौकीमा ल्याब सेवाको विस्तारले स्थानीय स्वास्थ्य सेवाको स्तर उकास्ने र यसले जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने अध्यक्ष कार्कीले बताए ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले आयुर्वेद औषधालयले परम्परागत चिकित्सा प्रणालीको संरक्षण गर्दै प्राकृतिक उपचारको प्रचारप्रसार गर्नेमा विश्वास व्यक्त गरिन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले संविधानले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गरेअनुसार गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखी नागरिकलाई सेवा प्रवाह गरिरहेको बताए ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले यस क्षेत्रमा स्थापना गरिएको स्वास्थ्य सेवाहरुले नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुग्ने र स्थानीय सरकारले आवश्यकता अनुसार सहयोग गर्ने बताए ।
स्वास्थ्य संस्था निर्माणका लागि जग्गा उपलब्ध गराउने बाबुराम कार्की, भुवन कुँवर, शिव कुँवर र प्रेम टण्डनलाई विशेष सम्मान गरिएको थियो । कालिका माध्यमिक विद्यालयको स्काउट समूहले पञ्चेबाजासहित आकर्षक प्रस्तुति गरेको थियो । कार्यक्रम वडाध्यक्ष दान बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभयो । यसले स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तरीय सेवा प्रवाहको नयाँ अध्याय सुरु गरेको मानिएको छ । कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी, राप्रपाका नेता डूल बहादुर कुवर,बाबुराम कार्की लगायतले आधारभूत स्वास्थ्य सेवामा नागरिक पहुँच विस्तार गर्ने काम गरेकोले प्रशंसा गरे ।