तानसेनको टक्सारमा शनिवार यमरी महोत्सव हुने

तानसेन। तानसेनको टक्सार टोलमा मंसिर २२ गते यमरी महोत्सव हुने भएको छ । मैत्री क्लब तानसेनको आयोजनामाचौथो यमरी महोत्सव तथा फुड फेस्टिवल हुने भएको हो । यमरी रोटीको प्रचार गर्दै यसको संरक्षण र सीप हस्तान्तरण गर्नका लागि यमरी महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष मनिता शाक्यले जानकारी दिइन् ।

क्लवले बिहीबार पत्रकार सम्मेलन गरेर नेवार समुदायमा प्रचलित यमरीको प्रचारप्रसार गरी यसको स्वादबारे जानकारी दिन महोत्सव गर्न लागिएको अध्यक्ष शाक्यले बताइन् ।

यमरी एक प्रकारको रोटी हो । महोत्सवमा २३ वटा स्टल रहने र ती स्टलमा नेवार समुदायका प्रचलित अन्य परिकारसमेत पाइने बताइएको छ । महोत्सवमा नेवारी धिमेबाजा प्रस्तुती, अन्य कलाकारहरूको प्रस्तुतीसंगै नेवारी समुदायका विभिन्न कला सस्कृतिको अवलोकनको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

यमरीको अर्थ य भनेको मनपर्ने र मरी भनेको रोटी भन्ने अर्थ लाग्छ । चामलको पिठो, तिल, चाकुलगायतको खाद्य बस्तु मिसाएर यमरी रोटी बनाइने प्रचारप्रसार समितिका संयोजक रिलनमान बज्राचार्यले बताए। यसको सेवनबाट शरीरमा ताप पैदा गर्नुका साथै स्वास्थ्यमा फाइदा पुग्ने विश्वास रहेको छ ।

यमरी महोत्सवका लागि वडा कार्यालयबाट सानो भएपनि सहयोग गर्दै आएको तानसेन– ३ का अध्यक्ष बावुरत्न शाक्यले बताए। यमरी रोटीको प्रचार गर्न स्थानीयले गर्न लागेको महोत्सवलाई प्रोत्साहन गर्न आफू तयार रहेको बताउँदै यो वर्ष ४० हजार रकम वडाबाट यमरी महोत्सवका लागि विनियोजन गरेको पनि अध्यक्ष शाक्यले बताए ।

वडाको सहायेग र अन्य खर्थ क्वलले गर्नेगरी एक लाख ५० हजार बराबरको खर्चमा महोत्सव संचालन गर्नका लागि मैत्री क्लवले जनाएको छ । विगत छ वर्षदेखि यमरी महोत्सव गर्दै आएको क्लवले महोत्सवमार्फत आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया