‘सुन्तला महोत्सवले ल्याएको छ किसानमा हर्ष’

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिकाले नेपालमै पहिलो पटक मिति २०८० मंसिर १६ गते सुन्तला महोत्सव गरेको थियो । गत वर्ष वर्ष सुरु गरेको महोत्सवले सफलता पाएपछि पाल्पा जिल्लालाई सुन्तला क्षेत्रको रुपमा विकास र प्रवर्द्धन गर्ने उदेश्यले यो वर्ष रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनमा दोस्रो सुन्तला महोत्सव हुने भएको छ ।

मंसिर २२ र २३ हुने दुई दिने महोत्सव दुवै पालिकाका सुन्तला किसानलाई पाएक पर्नेगरी रैनादेवी छहरा ५ को कटौजेपानीमा हुने भएको छ । गत वर्ष महोत्सव भएदेखि नै सुन्तला किसानमा जोस, जागर र आत्मबल बढेको देखिन्छ ।

”हिजो गाउँ छोडेर शहर झरेकाहरु आज वर्षौदेखि बाझिएको भिरालो बारी कोरेर अहिले आर्थिक समृद्धि ल्याउन, गाउँलाई कृषिमय बनाउन तथा गाउँमै कर्म गरेर आत्मनिर्भर बन्ने उदेश्यले सुन्तलाको विरुवा लगाउनेको संख्या दिन प्रतिदिन बढेको देखिन्छ। यही उत्सहाले गर्दा हिजो शहर झरेका किसान आज गाउँ फर्केर सुन्तलाबाटै आम्दानीको दीर्घकालिन सोच बनाउन थालेका छन् ।”

कथन अनुसार भिरालो तथा स–साना गाह्रा–गाह्रा भएका पहाडी क्षेत्रहरूमा सुन्तला फल पाकेको सिजनमा टाढाबाट हेर्दा पहेँलो सुन जस्तै तह–तह (तला–तला) देखिने भएकोले यस फलको नाम सुनको तला अर्थात् सुन्तला रहन गएको थियो ।

सुन्तला नेपालीको रैथाने बाली हो। सुन्तला नेपालको ६६ जिल्लामा उत्पादन हुने गरेको छ । सुन्तलाजातका फलफूललाई समेट्ने एक अंग्रेजी शब्द सिट्रस हो । सिट्रस अन्तर्गत सुन्तला , मुन्तला, जुनार , कागती , मौसम निबुवा , ज्यामिर, भोगटे, विमिरो, ग्रेपफ्रुट, चाक्सी, कमला आदि पर्दछन्। सिट्रस रंगको सुन्दरता फूल र फलहरुको सुगन्ध , फलको शानदार स्वादको अरु कुनै वनस्पति छैन । सुन्तलाबाट स्वादिष्ट जुस , जामजेल्ली, वाइन, मिठाइँ आदि जस्ता खाद्य वस्तु बन्ने गर्छन् ।

‘भौगोलिक संकेत (जिओग्राफिकल इन्डिकेशन जी आई) का लागि मिति २०८० चैत्र ३० गते सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरेको थियो । राष्ट्रिय फल घोषणा गरिसकेपछि अन्तर्राष्ट्रिय स्तरमै देश तथा फल दुवैको महत्त्व बढेको छ ।’

 

सुन्तला जात फलफूलमा चक्लाबन्दी खेती प्रविधि, यान्त्रिकरण कार्यक्रम, साना सिंचाई कार्यक्रम, भण्डारण घर, सुन्तलामा ५० प्रतिशत अनुदानमा छेत्र विस्तार कार्यक्रम, तालिम प्रविधि, स्थलगत तालिम,अन्तर जिल्ला कृषक भ्रमण, जिल्लास्तरमा तालिम, नर्सरी स्थापना जस्ता कार्यक्रम गरी किसानलाई उत्साहित बनाउन राज्यले पनि लगानी गरेको छ।

 

 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यनवयन एकाई पाल्पाको तीन वटा (अदुवा बेसार जोन, तरकारी जोन, सुन्तला जात फलफुल जोन) जोन मध्ये सुन्तला जात तथा फलफूल जोनले पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकमा सुन्तला जात फलफूल जोन विकास कार्यक्रम गर्न जोन विकास कार्यक्रम लागू भएदेखि हालसम्म कृषकस्तरमा जोन विकास कार्यक्रम संचालन गर्दै आएको छ । जसले गर्दा सुन्तला लगाउने किसानको जीवनस्तर र आयआर्जनमा टेवा पुर्याउदै आएको छ ।


जोन कार्यक्रममार्फत सुन्तला बालीमा लाग्ने विभिन्न किसिमका रोग तथा किरा नियन्त्रणका लागि बाली उपचार शिविर संचालन गर्दै आएको र सुन्तला बगैंचा सुदृढीकरणका लागि निलो तुथु, चुना, खनिज तेल, वितरण गरी सुन्तलाको बगैंचामा आउने ह्रासहरुलाई नियन्त्रणको प्रयास गर्दै आएको छ । यता रिब्दीकोट गाउँपालिकाले किसानलाई स्थाई र अस्थाई टनेल घर निर्माणका लागि ७५ प्रतिशत अनुदान पनि दिएको छ ।

 

 

 

रिब्दीकोट गाउँपालिकाले गत आर्थिक वर्षदेखि कम्तीमा २ वर्ष बाझिएको जमिनमा अकबरे खुर्सानी, बेसार र सुन्तला खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिदैँ आएको छ । यसले गर्दा खेती गर्ने किसानको संख्यामा वृद्धि भएको पाइएको छ । अहिले गाउँबाट विभिन्न कारण बसाई सर्नेहरु गाउँ फर्केर सुन्ताल खेती गरेर कम्तीमा एक लाखदेखि २० लाखबढीसम्म आम्दानी लिन सक्ने भएका छन् ।

दुई पालिकाको पहलमा सुरु भएको महोत्सवले किसानको उत्पादन विक्री भन्दा पनि बजारीकरण र पाल्पाको सुन्तलाको देशव्यापी रुपमा प्रचार हुने भएको छ । उत्साहित भएका किसानलाई प्राविधिक जानकारी र आउँदा वर्षहरुमा थप उत्पादन लिन सक्ने गरी सक्षम बनाउन पनि विभिन्न योजना अघि सानुपर्ने देखिन्छ। किसानले यो वर्ष पात र फलमा लागेको रोगले गर्दा समस्या खेपेका छन ।

पात पहेलो हुने, फल कम लाग्ने, बोट सुक्ने जस्ता कारणले गर्दा समस्यामा परेका किसानलाई स्थलगत रुपमौ परीक्षण र समस्या समाधानका लागि उपाए बताउने व्यवस्था गरिएको महोत्सव मूल आयोजनक समितिले जनाएको छ ।

यो वर्ष दुई पालिका मिले आयोजना गरेको महोत्सवलाई आउने वर्ष जिल्लास्तरको गर्ने योजना रहेको बताइएको छ । तर, महोत्सव मात्र गर्ने भन्दा किसानका समस्या समाधान र विविधिकरण गरी धेरै मूल्य पारेर यो खेतीमा लागेका किसानको आम्दानीको बलियो माध्ययमका रुपमा सुन्तला फललाई स्थापित गर्नका लागि ठोस योजना ल्याउन पनि जरुरी छ ।

 

-लेखक थापा रिब्दीकोटमा कार्यरत कृषि प्राविधिक हुन्

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer