विवाह पञ्चमीलाई उत्सवकाे रुपमा मनाउने रामपुरकाे घाेषणा

तानसेन।  रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने घोषणा गरेका छन्। शुक्रबार विवाह पञ्चमीको अवसरमा सीताकुण्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकाले विवाह पञ्चमीलाई नगरमा उत्सवको रुपमा मनाउनका लागि आगामी वर्षदेखि आवश्यक व्यवस्था गर्ने घोषणा गरेका हुन्।

सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले आमामी वर्षदेखि विवाह पञ्चमीमा रामपुर नगरपालिका वडा नं. ५ पञ्चेबाजासहित बेहुला भएर सीताकुण्ड जाने र वडा नं ४ र ३ माईती पक्ष भएर स्वागत गर्ने परम्पराको थालनी गरिने बताउदै यसको व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिवद्धता जनाए।

नगर प्रमुख थापाले सीताकुण्डको महत्व बारे सबैलाई बुझाउनु आवश्यक रहेको बताउदै उनले आर्थिक विकासको लागि पर्यटनसँग जोडिनु आवश्यक रहेको उल्लेख गरे। सीताकुण्डलाई पर्यटनसंग जोड्न आवश्यक पूर्वाधार निर्माणको काम भैरहेको पनि उनले बताए । ्

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले हरेक मानिसलाई धार्मिक र आध्यात्मिक ध्यानले ज्ञान प्राप्त हुने बताए।

वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले सीताकुण्डको धार्मिक ऐतिहासिक पौराणिक महत्व रहेकोले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए।

लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले रामघाट र सीताकुण्ड लगायत भगवान राम र सीतासंग सम्बन्धित रामपुर क्षेत्रका धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई एकीकृत रुपमा विस गर्नुपर्ने बताए।

रामपुर अस्पतालका पूर्व अध्यक्ष तथा युवा सामाजसेवी रामप्रसाद ढकाल रमेशले सीताकुण्डको छुट्टै महत्व भएको यसको विकास लागि नगरले विशेष रुपमा हेर्नुपर्ने बताए। कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले नगर प्रमुख थापाले सीताकुण्डको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गर्नु भएको घोषणाको स्वागत गरे।

सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुल बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रम सीता माध्यमिक विद्यालयका साहायक प्रध्यानाध्यापक जीवन पराजुलीको स्वागत र दुर्गेश मल्लको सञ्चालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया