तानसेनमा विद्युत सहज आपूर्तिका लागि सिटी फिडर

तानसेन। तानसेन बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउनका सिटी फिडरको शुभारम्भ गरिएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले तानसेन १, बराङ्दीमा फिडरको व्यवस्था गरिएको हो ।

लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना र तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा तानसेन नगरपालिका–१ बराङ्दीमा राखिएको मुख्य ट्रान्फर्मरबाट स्वीच अन गरेर विद्युत् फिडरबाट सेवाको शुभारम्भ गरेका हुन् ।

सेवा सुरु भएसंगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको छ । ग्रामीण क्षेत्रमा हावा, हुरी र अन्य कारणले विद्युत अवरुद्ध हुँदा तानसेन बजारको लाइन अवरुद्ध हुँदै अवस्था रहेकोले समस्या समाधानका लागि सिटी फिडर जडान गरी बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाइएको केन्द्रका प्रमुख दिलिप मरासिनीले बताए।

उनले ग्रामीण क्षेत्रको लाइन र बजार क्षेत्रका केही टोलहरुमा सप्लाई हुने विद्युत एउटै फिडरबाट आपूर्ति हुँदा बजार क्षेत्रको विद्युत् आपूर्ति असहज हुने गरेकोमा आगामी दिनमा बजार क्षेत्रको विद्युत् आपूर्ति सहज हुने बताए।

केन्द्रले अब गाउँतिरको विद्युतमा कतै समस्या भए पनि बजार क्षेत्र अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer