
बागलुङ । अखिल (क्रान्तिकारी) निसीखोला गाउँपालिका गाउँ कमिटीले गाउँपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै शिक्षा क्षेत्रमा सुधार र विद्यार्थीका समस्याको समाधानका लागि तत्काल कदम चाल्न माग गरेको छ।
संगठनका अध्यक्ष अनिल विश्वकर्माको नेतृत्वमा गएको टोलीले गाउँपालिकाका प्रमुख सूर्य बहादुर घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर र शिक्षा शाखा प्रमुख विष्णु न्यौपानेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयका भौतिक संरचनाको सुधार, शिक्षण गुणस्तर अभिवृद्धि, र विद्यार्थीलाई आवश्यक पर्ने सुविधा उपलब्ध गराउन माग गरिएको अध्यक्ष बिश्वकर्माले बताए ।
तत्काल समाधानको माग
अध्यक्ष विश्वकर्माले ज्ञापनपत्रमा विद्यालयमा आवश्यक स्रोतसाधनको व्यवस्थापन, पाठ्यपुस्तक अभावको अन्त्य र विद्यार्थीका मौलिक अधिकार सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। यसका साथै, गाउँपालिकामा विकास निर्माण र शैक्षिक नीति कार्यान्वयनमा देखिएको सुस्ततालाई चाँडो सुधार गर्न जोड दिइएको छ।
दबाबमूलक कदमको चेतावनी
संगठनले आफ्नो माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ। विद्यार्थीहरूका हकहित र शैक्षिक सुधारका लागि हाम्रो अभियान निरन्तर जारी रहनेछ, अध्यक्ष विश्वकर्माले भने। पूर्व केन्द्रीय सदस्य तथा पाल्पाका उपाध्यक्ष मीलन घर्तीले स्थानीय सरकारहरु विद्यार्थीको समस्या समाधानका सक्रिय हुनुपर्ने बताए ।
पालिका प्रमुखको प्रतिक्रिया
पालिका प्रमुख सूर्य बहादुर घर्ती मगरले ज्ञापनपत्रको विषयमा गम्भीर छलफल गरिने र सम्भव भएसम्म तुरुन्त समाधान गरिने प्रतिबद्धता जनाए।
संगठनले पालिकालाई आफ्ना माग पूरा गर्न दबाब दिएको छ। अब पालिकाले यस विषयमा के कदम चाल्ने हो, त्यो समयले देखाउनेछ।