
विष्णु कोइराला
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, मेहलढापमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आधारभूत स्वास्थ्य उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित शिविरबाट स्थानीयले स्वास्थ्य परीक्षण गर्न पाउँदा उत्साहित भएका छन् ।
युवा सूचना केन्द्र नेपाल, सिद्धार्थनगरको व्यवस्थापन र संजीवनको सहयोगमा तथा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पाल्पाको प्राविधिक सहयोगमामा शिविर सम्पन्न भएको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।
शिविर महाकाली माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको हो । यस अवसरमा स्वास्थ्य जाँच, औषधि वितरण, स्वास्थ्य सचेतना सत्र र विशेषज्ञ परामर्शजस्ता सेवा निःशुल्क उपलब्ध गराइएको थियो । लुम्बिनी मेडिकल कलेजका अनुभवी चिकित्सक, नर्स र स्वयंसेवकहरूको टोलीले स्थानीयबासिन्दाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए ।
शिविरमा ४०६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए भने २० जना गरिब तथा विपन्न नागरिकलाई न्यानो कपडा (स्वेटर) पनि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख रानाले बताए । शिविर वडा नं. ४ का वडाध्यक्ष गोविन्द बहादुर रायमाझीको अध्यक्षतामा र निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्याल, स्वास्थ्य शाखा प्रमुख जिबन राना, जनप्रतिनिधिहरू र स्थानीय अभियान्ताहरूको पनि उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।