
तानसेन। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सडकमा शिविर राखेर सवारी चालकको स्वास्थ्य परीक्षण गरेको छ । ट्राफिक प्रहरीले सचेतना अभियान अन्तरगत सिद्धार्थ राजमार्गमा एक दिने शिविर राखेर ७२ जना चालकको स्वास्थ्य परीक्षण गरेको हो।
पाल्पा अस्पतालसंगको प्राविधिक सहयोगमा सार्वजनिक सवारीका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख रामप्रसाद खनालले बताए ।
”सडक र सवारी हामी सबैको जिम्मेवारी”, ‘अस्वस्थ हुँदा सवारी नचलाऔं’, समय समयमा स्वास्थ्य परीक्षण गराऔं भन्ने नाराका साथ सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको लामिडाँडामा सवारी चालकको आँखा तथा प्राथमिक स्वास्थ्य परीक्षण गरिएको प्रमुख खनालले जानकारी दिए।
पहाडी जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई तीव्रता दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडकको अवस्था कमजोर रहेको र कार्य व्यस्तताले चालकले नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण नगर्ने र खानपानका साथै उच्च रक्तचापका कारण दुर्घटना हुन सक्ने जोखिम न्यनीकरणका लागि स्वास्थ परीक्षणसहित सचेतना कार्यक्रम गरिएकोमा चालकहरु पनि खुसी भएका छन् । लामो समयसम्म सवारी चालकको भूमिकामा रहने चालकहरुलाई सडकै निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श पाउँदा खुसी चालक सोमबहादुर रानाले बताए ।