पाल्पामा एकै दिन दुई जनाको मृत्यु

तानसेन। पाल्पामा बुधबार मात्रै छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिकामा घाँस काट्ने क्रममा लडेर एक जना महिला र बगनासकाली गाउँपालिकामा ज्याला मजदुरी गर्ने पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका वडा नं- २ पाँचकुण्डामा रुखमा घाँस काट्ने क्रममा लडेर ५५ वर्षीया रीमा सारुको मृत्यु भएको हो। उनको आफ्नै घर पछाडी खेतमा रहेको खनियाँको रुखमा घाँस काट्ने क्रममा अचानक रुखबाट लडी मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बगनासकाली गाउँपालिका वडा नं.- २ पोखराथोक ठूलीचौपारीस्थित नव कमल निर्माण सेवा प्रा. लि. मा काम गर्ने बर्दियाको गेरुवा गाउँपालिका- २ उल्टनपुरका ३५ वर्षीय मायाराम थारु काम गर्ने स्थलको सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया