रैनादेवी छहराको पाँचौं अध्यक्ष कपको उपाधि शताब्दी युवा क्लबलाई

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सम्पन्न पाँचौँ अध्यक्ष कप अन्तर्गतको अन्तर क्लब तथा वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं.४, अमलाबासको शताब्दी युवा क्लबले हात पारेको छ । नकआउट आधारमा खेलाइएको प्रतियोगिताको फाइनल खेलमा शताब्दी युवा क्लबले रैनादेवी छहरा ४, मेहलढापको हेल्पफुल ह्यान्ड्स युवा क्लबलाई सुपर ओभरमा पराजित गर्दै उपाधि हात पारेको हो।

उपाधि चुमेसंगै शताब्दी युवा क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। द्वितीय स्थानमा रहेका हेल्पफुल ह्यान्ड्स युवा क्लबले पनि ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

विजेता रउपविजेतालाई गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई र उपाध्यक्ष युवराज थापाले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद हस्तान्तरण गरे । पौष २८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा तानसेनमा आयोजित प्रतियोगिताको समापन कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका टिमका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। यसैगरी, नेपाल प्रिमियर लिगमा चितवन राइनोजबाट प्रतिनिधित्व गरेका खेलाडी नर बहादुर सार्कीलाई पनि विशेष सम्मान गरिएको थियो।

प्रतियोगिताले स्थानीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका अध्यक्ष रूकमाङगत भट्टराईले बताए । आगामी दिनमा थप पालिका स्तरीय प्रतियोगिता सञ्चालन गर्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया