
पाल्पा । रिब्दीकोट गाउँपालिकाको आयोजनामा रोजगारीमा खटिनु अघि श्रमिकहरूलाई आवश्यक निर्देशन तथा जानकारी प्रदान गर्ने अभिमुखिकरण कार्यक्रम वडा नम्बर ६ र वडा नम्बर ८ मा सम्पन्न भएको छ ।
वडा नम्वर ६ का अध्यक्ष प्रकाश रायमाझी र ८ वडा अध्यक्ष चुरा बहादुर छहरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी र रोजगारीका लागि खटिने श्रमिकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको क्रममा श्रमिकहरूलाई कामको सुरक्षा र कार्यस्थलमा अपनाउनुपर्ने सतर्कताका उपायहरूको जानकारी प्रदान गरिनुका साथै उनीहरूलाई काम गर्दा प्रयोग हुने सुरक्षा सामग्रीहरू वितरण गरिएको वडाध्यक्ष प्रकाश रायमाझीले बताए ।
श्रमिकहरूको हकहित र सुरक्षा सुनिश्चित गर्न आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ । सुरक्षा सामग्री वितरणले श्रमिकहरूको कार्यक्षमतामा सुधार आउने र कार्यस्थलमा हुने सम्भावित जोखिमलाई न्यून गर्ने अपेक्षा गरिएको वडाध्यक्ष रायमाझीले बताए ।