रिडी मेलामा हस्तकलाको सामग्रीको विक्री

अन्य बेला व्यापार नहुने भएपनि रिडी मेलामा हस्तकला र घरेलु सामग्रीको खरिद विक्री हुने पुरानो प्रचलन कायमै रहेको छ

तानसेन। माघ १ गतेदेखि लागेको माघे संक्रान्ति मेलाको अवसरमा रुरु क्षेत्रधाम रिडीमा स्थानीय स्थतमा उत्पादित सामग्रीले बजार पाएका छन । नेपालको चार धाममध्यको एक रूरू क्षेत्रधाम रिडीमा लागेको संक्रान्ति मेलामा घरेलु उत्पादनले बजार पाएको हो ।

पछिल्लो समयमा प्लास्टिक र अन्य आधुनिक सामग्रीको प्रयोगले हराउने अवस्थामा पुगेका स्थानीय स्तरमा उत्पादित बासँबाट बनेका सुपो, डाले, काइयो, माद्रो, भेडा र चौरीको उनबाट बनेका राडीपाखी, काम्लो, काठको ठेकी तथा कृषि क्षेत्रमा प्रयोग हुने सामग्रीको माग घटेको भएपनि यो मेलामा यस्ता सामग्रीको व्यापार हुने गरेको व्यापारीको भनाइ छ ।

विगतको तुलनामा व्यापार घटेपनि अन्य समयमा भन्दा संक्रान्ति मेलामा घरेलु कृषि औजार र परम्परागत हस्तकलाका सामग्रीको खरिद विक्री हुने गरेको व्यापारीहरुले बताएका छन् । पुरानो व्यापारीक केन्द्र मानिने रिडी बगरमा हरेक वर्ष माघे संक्रान्ति मेला लाग्ने गर्दछ । पाल्पा, गुल्मी र स्याङजा गरी तीन जिल्लाको संगमस्थल रिडीमा हरेक वर्ष लाग्ने मेलामा पश्चिम पाल्पाका विभिन्न स्थानसंगै बाग्लुङ्गबाट पनि सुपो, डालो जस्ता बासबाट बनेका सामग्री बेच्नका लागि व्यापारीहरु आउने गरेका छ्न।

मेलामा राखिएका घरेलु सामग्रीमध्ये बासँबाट बनेका सामग्री दुई सयदेखि दुई हजारम्म र काठबाट बनेका ठेकीको मूल्य सानोलाई एक हजारदेखि ५ हजार बढीसम्ममा विक्री हुने गरेको व्यापारी डोलबहादुर लामटाङ्गेले बताए । अन्य समयमा घरमा बसेर बुनेका सुपो, डालो जस्ता समानको व्यापार रिडी मेलामा हुने पुरानो चलन भएका कारण पनि प्रत्येक वर्ष आफूहरु यस्ता सामग्री बेच्नका लागि आउने गरेको उनले बताए ।

मेलाका बेला हुने व्यापारले दैनिकी चलाउन सहयोग पुग्ने अर्का व्यापारी काशीराम खाम्चाले बताए । उनले विगतमा भन्दा केही मात्रामा व्यापार घटेपनि यो मेला यस्ता सामान  बेच्नका लागि मुख्य मेला मानिने हुँदा पनि व्यापार राम्रौ हुने गरेको बताए ।

मेलामा पुगेकी तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले अन्य स्थानमा भन्दा राम्रो र बलिया सामग्री पाइने हुँदा बासँबाट बनेका सामग्री खरिद गरेको बताइन् ।

विगतमा ग्रामीण भेगमा निकै प्रयोगमा आउने यस्ता वस्तुको प्रयोगलाई अहिले आधुनिक साम्रगीले विस्थापित गराएका छन् । हातले बनाइने ग्रामीण जीवनसंग जोडिएका यस्ता सामग्रीको प्रयोगले मानव स्वास्थ्यलाई फाइदा पुग्ने जानकारहरु बताउछन् ।

गाउँघरमा फालिएकार खेर गएका निगालो र घरेलु बस्तुको प्रयोगबाट बनेका सामग्रीको प्रयोग गरी बनाइएका कलात्मक सामग्रीको विक्री गर्न पाउँदा आम्दानी पनि राम्रो भएको व्यापारीको भनाइ छ ।

रिडी मेलामा घरेलु सामग्री बेच्नका लागि २५ बढी स्टल राखिएको आयोजक रुरु फ्रेन्स क्लवले जनाएको छ । यस्तै मेलमा हिमाली जिल्ला उत्पादन हुने राडीपाखी, काम्लो जस्ता सामग्रीको पनि बिक्रीका लागि यो वर्ष रुकुम पूर्व रुकुम पश्चिम, रोल्पालगायतका जिल्लाबाट गरी ३२ जनाको  समूह मेलास्थलमा आएको उनीहरुले बताएका छन् ।

माघे संक्रान्ति मेलामा कालीगण्डकी स्नान र ॠषिकेशको दर्शन गरि घरेलु बस्तुहरु किनमेल गर्नका लागि देशका विभिन्न जिल्लासंगै छिमेकी देशबाट पनि भक्तजनको बाक्लो उपस्थिती हुने गरेको छ ।

स्थानीय रुपमा उत्पादन हुने सामग्रीका विक्री वितरणका लागि यस्ता मेला महोत्सव गतिलो माध्ययम हुने गरेको व्यापारीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया