संस्थागत विद्यालय सुधारको जिम्मा कस्को?

पाल्पा। शिक्षा क्षेत्रको सुधारका लागि खुलेका संस्थागत विद्यालयमा अहिले धेरै अभिभावको रोजाइमा परेका छन् । डेढ दशक अघिदेखि सुन्दर नगरी तानसेनसंगै पाल्पाका विभिन्न ग्रामीण भेगमा पनि संस्थागत विद्यालय खुले । तीमध्येका केही अहिले संचालनमा छन् , केही बन्द भए, केहीले मर्च गरेर संचालन गर्दै आएका छन् । यी विद्यालयले पनि नर्सरी कक्षादेखि प्राथमिक र माध्यमिक तहको अध्यापन गराउदै आएका छन् ।

सामुदायिक विद्यालयमा जस्तै संस्थागत विद्यालयमा पनि सुरुवातमा निकै टाढा टाढाबाट विद्यार्थीहरू पढ्न आउँदथे। विद्यार्थीको सङ्ख्या पनि अहिलेको तुलनामा निकै नै बढी थिए। गुणस्तरीय शिक्षाका लागि शुल्क तिरेरै बालबालिकालाई संस्थागत विद्यालयमा पढाउन अभिभावक तयार थिए। विगत केही वर्ष यता यातायातको सुविधासँगै प्रचारप्रसारको प्रलोभन अस्वस्थ प्रतिस्पर्धासँगै केही विद्यार्थीहरू घटिरहेको अवस्था छ। यो अधिकांश बोर्डिङ स्कुलको कथा हो।

बसन्त पञ्चमी र चैत मास आउनै नहुने हावा हुरीले पातपटिङ्गर उडाएर लगे जस्तै एउटा विद्यालयको विद्यार्थी अर्को विद्यालयमा जाने प्रवृत्ति बढीरहेको छ। पाल्पा जिल्लामा ३८ वटा निजी तथा आवासीय विद्यालय छन्। जहाँ ७५१ जना शिक्षक र १२ हजार २८६ जना विद्यार्थीहरु छन्।

सबै शिक्षक अब्बल र दक्ष छन्। आफ्नो विद्यालयप्रति बफादार छन् तर, पछिल्ला वर्षहरूमा दुःखको कुरा के छ भने छुटको परिपाटीले गर्दा एक ठाउँका विद्यार्थी अर्को ठाउँमा जान बाध्य भएका छन्। जान पनि किन नजाउन छुट पाइएको छ दुई पैसा बच्छ तर, यो कुरा मलाई गलत जस्तो लाग्छ। यसो गर्दा साना विद्यालय र शिक्षक कर्मचारीले भोग्नु परेका पीडा र व्यथा कसलाई नै थाहा छ र? अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन भने जस्तै हो।

शिक्षा कुनै कपडा वा सामान होइन जसलाई किनबेच गर्ने? शिक्षा त हाम्रो नैसर्गिक अधिकार हो । किताब एउटै, पढाइ एउटै, शिक्षकको योग्यता एउटै। त्यसोभए भेदभाव किन? न्यूनतम चार, पाँच हजारदेखि अधिकतम २५ ,३० हजार खाने शिक्षकहरू पनि निजी विद्यालयमै हुनुहुन्छ ।

निजी विद्यालयको आफ्नै नीति र नियम हुनसक्छ म मान्छु तर समानता हुन जरुरी छ। सामुदायिक विद्यालयमा सबैको सेवा सुविधा एउटै हुने तर, निजी विद्यालयमा किन फरक? यो समस्या मेरो मात्र होइन, पाल्पाको मात्र पनि होइन सिंगो नेपालकै बनेको छ। कतै कक्षामा पाँचजना विद्यार्थी त छैनन्। कतै बस्ने सिट नै छैनन्। आखिर किन कसैले गहन तरिकाले सोच्न सकेन वा सोच्नै चाहेन?

के शिक्षक दक्ष नभएर हो त विद्यार्थी कम भएको ? की शिक्षक दक्ष र अब्बल भएर हो त विद्यार्थी बढी भएको? यसमा म अनयोलमा छु। सामुदायिक र निजी विद्यालयबीच फरक छुट्याउन मिल्ला तर, के निजी र निजी बीच फरक वा विभेद गर्न मिल्छ र? न यस विषयमा कोही शिक्षक कर्मचारी बोल्न सके न कोही सक्ने छन्? न स्थानीय सरकारले यसलाई गम्भीर भएर सोच्न नै चाहन्छ। यो तितो र सत्य कुरा हो।

काम एउटै दाम फरक, थलो एउटै तर दृष्टिकोण फरक आखिर किन? जल्दो बल्दो कारण एउटै छ हामी पनि विद्यालय पढ्यौ कहिल्यै गुरुहरूले घरदैलो कार्यक्रम गर्ने विद्यार्थीलाई प्रलोभन देखाउँदै फकाउने गर्नु भएन। सो इच्छाले विद्यालय रोजेर पढ्यौ तर अहिले त के भन्छ रे आधुनिक युग पो यहाँ जसले जे गरे पनि हुने हरेक क्षेत्रमा व्यापार र फाइदा हेर्न? चुनाव नै जित्ने हो कि वा गोल्ड मेडल नै लगाउने हो कि जस्तो हारालुस, तानातान विद्यार्थी पनि अलमल, अभिभावक पनि अलमल। अहिले त हरेक क्षेत्रमा जसको शक्ति उसकै भक्ति भइरहेको छ। म पनि बाँच्छु अरुलाई पनि बचाउँछु भन्ने सोच कम भयो।

मानवता हराउँदै गयो, विद्यालय विद्यालयबीच प्रतिस्पर्धाको भावना सिर्जना भयो। प्रतिस्पर्धा गर्नु स्वाभाविक कुरा हो। प्रगति गर्न प्रतिस्पर्धा आवश्यक छ तर स्वस्थ रूपमा समझदारी, साझेदारी र एकरूपताको ढङ्गले निष्पक्ष रुपमा गर्नु जरुरी छ। आफ्नो विद्यालयको माया सबैलाई हुन्छ त्यसलाई बनाउने कोसिश गर्नुपर्छ। आफू भलो त जगतै भलो भन्ने कुरा स्थापित गर्न सक्यो भने कसैले कसैको विद्यार्थी खोस्नु पर्दैन घरदैलो गर्नु पनि पर्दैन विद्यार्थी आफै खोजी खोजी आउँछन्। हामीले मै खाउ मै लाउ सुख सयल मै मात्र गरौं भन्ने गलत मानसिकतालाई त्यागेर निजी विद्यालयहरू सबैले सुलभ र पहुँचयोग्य शिक्षा प्रदान गरौँ।

विद्यार्थीको गुणस्तर वृद्धि गर्नको लागि सबै लागि परौँ। तर एक आपसमा खोसाखोस जस्तो कु प्रचलन हटाऔं र अधिकांश विद्यालय तथा कर्मचारीको समस्यालाई मध्यनजर गर्दै निजी विद्यालयबीच एकरूपता कायम गर्न स्थानीय सरकार, पाल्पा जिल्लाका शिक्षासेवी निजी तथा आवश्यक विद्यालयका सम्पूर्ण आदरणीय पदाधिकारीले यस्तो विषयलाई गहन चिन्तन मनन गरी समस्याको समाधानतर्फ जाऔं।

त भन्दा म के कमको भावना भन्दा पनि अरुलाई परेको समस्या मेरो समस्या हो भन्ने बोध गरेर शिक्षा जस्तो अपरिहार्य जस बिना जीवन अन्धकार बन्न पुग्छ यस्तो विषयलाई फुलाउन, फलाउन हातमा हात राखेर, एकजुट भई एकरुपता कायम गर्न पहल गर्ने गरेमा सबैले गरेर खान पाउने थिए। कोही विद्यालय र शिक्षक नैरास्य हुने थिएनन् सबैको पेट आधा हुने थिएन।

सबैले निम्न लागेको दियोमा तेल थपे जस्तै आशाका किरणसँगै आफ्ना विद्यालयलाई सजाउन र फुलाउन पाउने थिए आपसमा भाइचाराको सम्बन्ध प्रगाड हुने थियो।

अवश्य पनि यस्तो दिन आउनेछ, सबैको ध्यान जाने छ, आफ्नो कर्मथलो पवित्र मन्दिरमा सदासर्वदा भक्तजनको कमी रहने छैन। सबैको कुशल मङ्गल नै हुनेछ।

-लेखक  कार्की, तानसेनको एक संस्थागत विद्यालयकी शिक्षिका हुन्।

तपाईको प्रतिक्रिया