नेकपा माओवादीको एजेण्डामा देश अगाडि बढ्दैछ: उपमहासचिव पुन

पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्वअर्थमन्त्री वर्षमान पुनले देश माओवादीको एजेण्डामा चलेको दाबी गर्दै नेपाली राजनीतिको केन्द्रमा माओवादी रहेको बताएका छन्। उनले केही दल र नेताहरूलाई यो स्वीकार गर्न गाह्रो पर्ने भए पनि हालको संघीय गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्याय जस्ता परिवर्तन माओवादी जनयुद्ध र आन्दोलनकै परिणाम भएको स्पष्ट पारे।

नेकपा माओवादी रैनादेवी छहरा गाउँ समितिको तेस्रो अधिवेशन सम्वोधन गर्दै पुर्वअर्थमन्त्री वर्षमान पुनले केही राजनीतिक दलहरूले जनयुद्धको त्याग, मूल्य मान्यता, गौरवलाई आत्मसात् गर्न नचाहे पनि त्यसबाट प्राप्त उपलब्धिहरू भने लिन खोज्ने प्रवृत्ति रहेको बताए।  पूर्वमन्त्री पुनले माओवादीले देशलाई नयाँ जिम्मेवारीसहित नेतृत्व गरिरहेको उल्लेख गरे। उनले दश वर्षे जनयुद्धपछि नेपालमा संघीय गणतन्त्र, समानुपातिक प्रणाली, धर्म निरपेक्षता र सामाजिक न्याय स्थापना भई समाज नयाँ युगमा प्रवेश गरेको बताए।

“पहिले सामन्तवादी, राजतन्त्रवादी र असमावेशी राज्य व्यवस्थामा थियो, जुन अहिले परिवर्तन भइसकेको छ,” पुनले भने। दुई दशकको  अभ्यासले नेपाली जनता शिक्षित, अधिकार सम्पन्न र पूर्वाधार विकासमा योगदान पुर्‍याएको उनको भनाइ छ। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) नयाँ एजेण्डा तय गर्न असक्षम रहेको आरोप लगाए।

पुनले भने, “कांग्रेस र एमालेका कारण जनतामा निराशा र आक्रोश मात्रै छ। तर, माओवादीले देशलाई नयाँ एजेण्डा प्रदान गर्नुपर्छ।”उनले भविष्यमा देशको आर्थिक समृद्धि, समाजवाद उन्मुख शासन प्रणाली र समानताको पक्षमा माओवादी केन्द्रले अग्रसर भूमिका खेल्ने दाबी गरे।

नेकपा माओवादी लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पाल्पा जिल्लाको समग्र विकासका लागि माओवादी नेतृत्व आवश्यक रहेको बताए। उनका अनुसार माओवादीको नेतृत्वबिना नागरिकका अधिकार स्थापित गर्न कठिन हुने उल्लेख गरे। बरालले स्थानीय तहमा माओवादी नेतृत्व नभएसम्म नागरिकको समृद्धि सम्भव नहुने बताए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेयका अनुसार पार्टीप्रति जनताको आकर्षण फेरि बढ्दै गएको बताए।  उनले यो जनलहरले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। प्रदेश सचिवालयका प्रमुख यक्ष पोखरेलले पाल्पामा माओवादी शक्तिशाली क्षेत्रका रूपमा उदय भइरहेको बताए। जनहितका काम गरेका कारण माओवादी जनताको लोकप्रिय पार्टी बन्दै गएको उनको दाबी छ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले समानुपातिक व्यवस्थाका कारण महिला, दलित, जनजातिहरू राज्यको प्रमुख निकायमा पुगेको उल्लेख गरे। उनले यो अवस्था सिर्जना गर्न माओवादीको ठूलो योगदान रहेको बताए। कार्यक्रममा संविधानसभा सदस्य लिला सोमै, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की लगायतका नेताहरूले पार्टीलाई अझ बलियो बनाउन सबै कार्यकर्ताहरू सक्रिय हुनुपर्ने धारणा राखे।

अधिवेशनमा नेपाली काँग्रेस र एमाले परित्याग गरी झण्डै पचास जना माओवादीमा प्रवेश गरेका छन् । उनीहरुले माओवादी नेता प्रचण्ड प्रधानमन्त्री भएका बेला जनपक्षीय काम गरेकै कारण आफुहरु यो पार्टीमा प्रवेश गरेको बताए । रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष युवराज थापाको स्वागत मन्तव्यबाट अधिवेशन सुरु भएको थियो । नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँ समिति अध्यक्ष पदम सोमैको अध्यक्षता र सचिव प्रदीप पौडेल सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अधिवेशनले पदम सोमैको अध्यक्षतामा ४१ सदस्यीय गाउ समिति चयन भएको छ ।

तपाईको प्रतिक्रिया