पाल्पामा पहिलोपटक सुविधा सम्पन्न स्पा सञ्चालनमा

पाल्पा – पाल्पाको तानसेन–३ स्थित अन्नपूर्ण होटलमा सुविधा सम्पन्न स्पा सञ्चालनमा आएको छ। यो स्पा पाल्पामा सञ्चालनमा आएको पहिलो स्पा हो, जसले जिल्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

स्पाको उद्घाटन कार्यक्रममा तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले पर्यटन र कृषिमा गरिने लगानी दीर्घकालीन हुने बताउँदै पर्यटनसँग जोडिएको व्यवसायले जिल्लाको आर्थिक चलायमानमा टेवा पुग्ने उल्लेख गरे । उनले पर्यटन र कृषि क्षेत्र टिकाउ छन्। यसमा लगानी गर्दै जाँदा दीर्घकालीन उपयोगिता रहेको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख सन्तोष कुमार पौडेल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, उद्योग वाणिज्य संघ पाल्पाका महासचिव समिरमान श्रेष्ठ लगायतले स्पा पर्यटन क्षेत्रकै पूर्वाधार भएकाले यसप्रति आम समुदायको धारणा परिवर्तन आवश्यक रहेको औंल्याए ।

व्यवसायी लक्ष्मण बस्यालले २० लाख बढीको लगानीमा उक्त स्पा सञ्चालनमा ल्याउनुभएको हो। उनले गुणस्तरीय सेवासहित सञ्चालनमा रहेको होटल अन्नपूर्णमा स्पा सेवा थपिएको हुँदा यसको प्रचार(प्रसार र प्रयोगलाई प्रवर्द्धन गर्न आग्रह गरे । नेपालमा पहिलोपटक सन् १९९७ मा पोखराको फूलबारी रिसोर्टले स्पा सेवा भित्र्याएको थियो। स्पालाई पानीबाट गरिने उपचार विधिको रूपमा लिइन्छ।

स्पामा १७ वर्ष होटल हायात एजेन्सी र दुई वर्ष होटल सोल्टीमा स्पा व्यवसायमा आवद्ध अनुभवी कन्सल्टेन्ट अशोक कुमार राईले सहजीकरण गरे। उनका अनुसार स्पाले शरीर, मन, विचार र आत्मसम्मानमा पूर्ण आराम प्रदान गर्दछ। यसले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गर्न र तनाव कम गर्न मद्दत गर्छ। उनले शरीरको सुरक्षाका लागि मसाज नै उपयुक्त उपाय भएको उल्लेख गरे।

कार्यक्रम सञ्चालनमा कुटुम्ब एफएमका स्टेशन प्रबन्धक नारायण न्यौपानेले सहजीकरण गरे ।

तपाईको प्रतिक्रिया