गुमनाम नाच्ने डाँडा : पर्यटकीय सम्भावना बोकेको क्षेत्र

पाल्पा । पाल्पा सदरमुकाम तानसेनदेखि ११ किलोमिटर उत्तरमा पर्ने बगनासकाली गाउँपालिकाको वडा नम्बर ७, खानीगाउँस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वको नाच्ने डाँडा उचित प्रचारप्रसारको अभावमा गुमनाम बन्दै गएको छ।

यो ठाउँको नाम नाच्ने डाँडा रहनुको कारण विगतको समयमा बराङदी, खानीगाँउ, चापपानी लगायतका वरपरका गाँउहरुबाट महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारी यो ठाँउमा जम्मा भई नाच्ने गाउँने प्रचलन भएकोले यस ठाँउलाई नाच्नेडाँडाको नाम दिइएको हो ।

प्रचारप्रसारको अभावले पछाडी परेको नाच्ने डाँडामा प्राकृतिक र सांस्कृतिक रूपमा आकर्षक स्थलहरू छन्। यहाँको पहाडी भु–बनावट यहाँ रहेको सुन्दर पोखरी, भीरसँगै रहेको सत्यवती देवीको मन्दिर र ऐतिहासिक देउती बज्यैको बासस्थानजस्ता स्थलले यस ठाउँको महत्त्वलाई थप बढाएको छ। देउती बज्यैलाई चिच्याएर वर माग्ने किंवदन्तीले यस स्थानलाई धार्मिक रूपमा पनि महत्त्वपूर्ण बनाएको छ। पहिले पहिले पानी नपरेको समयमा चण्डीपूर्णामाको दिन पारी महादेवसगँ पानी माग्ने चण्डीस्थान पनि यो ठाँउ सँगसँगै रहेको छ ।

हाल सडक सञ्चालनले यो ठाउँमा पुग्न सहज गराए पनि यसको उचित व्यवस्थापन र प्रचारप्रसारको अभावमा पर्यटकहरूको चहलपहल सीमित मात्रामा छ। केही विद्यालयका घुमफिरका कार्यक्रम र स्थानीय वनभोजका लागि मात्र प्रयोग हुने यो ठाउँ पर्यटकहरूको मुख्य गन्तव्य बन्न सकिरहेको छैन।

डिभिजन वन कार्यालय पाल्पाको पहलमा पोखरीको पुनर्निर्माण, भ्यू टावर, र बस्ने स्थानजस्ता संरचनाहरू बनाइए पनि यी प्रयास पर्याप्त देखिँदैनन्। स्तरीय सडक, पर्यटकहरूको सुविधाका लागि होटल, र क्याम्पजस्ता पूर्वाधार थप्न सके यस क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय विष्णु तिमिल्सिना बताउँछन्।  राज्यको चौथो अगं भनेर चिनिने पत्रकारिता क्षेत्रले समेत यो ठाँउ चिन्न आवश्यक छ । यो ठाँउका मनमोहक दृश्य घुुम्ने र मनोरञ्न लिने ठाँउ हो यसका अतिरिक्त अन्य सम्भावना पनि बोकेको ठाँउ हो । यस क्षेत्रको उचित व्यवस्थापन गर्न सकिए पर्यटकिय क्षेत्रको विकास गरि पर्यटनसगँ जोडेर आय–आर्जन र रोजगारी सिर्जना गर्न सकिने स्थानीय  तिमिल्सिना बताउँछन्।

यस ठाउँमा थप पूर्वाधारको निर्माण गर्न सकेमा अझ बढी व्यवस्थित र आर्कषक बन्न सक्छ । यस ठाँउमा गाँउपालिका लगायत अन्य तहका सरकार र सरोकारवाला निकायहरुको ध्यान पुुग्न सकेमा स्तरीय सडक बनाई यस ठाँउबाट रानीमहल सम्मको जिपलाइनको राम्रो सम्भावना रहेको देखिन्छ । अझ यस ठाँउमा प्यारागलाइडिगंका लागि उपयुुक्त ठाँउ हुुने सम्भावना देखिन्छ ।

बगनासकाली गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष गणबहादुर बुढाथोकी भन्छन्, “बजेट अभावका कारण यहाँ कुनै पनि योजनाहरू सञ्चालनमा छैनन्। पुराना मन्दिरहरूको पुनर्निर्माण, व्यवस्थित संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ। वडाले सत्यवती बज्यैको मन्दिरलाई केन्द्रमा राखेर महायज्ञ जस्ता कार्यक्रम सञ्चालन गर्ने योजनामा छ।“

स्थानीयबासी र सरोकारवाला निकायहरूको ध्यान आकर्षित गर्न सकिएमा यस क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने सम्भावना रहेको छ। विशेषगरी, स्तरीय सडक निर्माण गरी नाच्ने डाँडाबाट रानीमहलसम्म जिपलाइन सञ्चालन तथा प्याराग्लाइडिङका लागि उपयुक्त स्थलको पहिचान गर्न सकिने पर्यटन व्यवसायीको भनाई छ ।

तपाईको प्रतिक्रिया