पाल्पा । पाल्पा जिल्लाको माथागढी गाउँपालिका ४ की संघर्षशील र हिम्मतकी प्रतिमूर्ति यमकला काम्मु। जसले समाजमा केही काम गरी नमुना बन्न सफल महिला हो । जो ग्रामीण क्षेत्रमा बसोबास गरेपनि आम्दानीका प्रशस्त सम्भावना देखेकी साहसिक महिलाको पहिचान बनाउन सफलता खोज्न सक्षम महिला हो काम्मु ।
२०५२ सालतिर सिलाई कटिङ तालिम लिने अवसर जुट्यो । गाउँमा कपडा सिलाउँदै आफ्नो दैनिकी चलाउँन थाले । जतिबेला १० वर्ष कोठाभाडामा बसेर सिलाई काम गर्नुपरयो । सिलाई पसल खोलेपछि मेरो व्यवसाय राम्रो हुँदै गयो । महिलाका लागि आत्मनिर्भर गराउने उद्देश्यले २०६० मा सिलाई कटिङ तालिम दिँने सोच पलायो । पसल ठूलो बनाउँदै गएपछि महिलाहरुलाई सिलाई सिकाउन थाले । यसबाट मेरो परिवारको आधारभूत आवश्यकताहरु पुरा गर्न सहज हुँदै गयो ।
श्रीमानलाई पनि विदेश जान नदिई नेपालमै बसेर आफ्नै गाउँ ठाउँमा नमुना बन्नुपर्छ भन्ने थियो । २०७३ सालमा बँगुरपालन व्यसायमा हात हालियो । नयाँ घरदेखि करिब डेढ किलोमिटर टाढा आफ्नै पुरानो घर केरौलीमा पाँच रोपनी जग्गामा बङ्गुरपालन गर्दै आएको उनी बताउँछिन् । १५ वटा बङ्गुरबाट सुरु गर्दागर्दै एक वर्षपछि २०० देखि २५० हुँदै गएर धेरै उमङ्ग र हर्षित पारेको पारेको काम्मुले बताउँछिन् । व्यवसायमा क्रमिक रूपमा वृद्धि हुन थालेपछि दुईजना काम गर्ने मानिस थपेको उनले बताइन् । जसमा एकजना पुरुष मासु काट्ने र अर्की महिला खोर सफा गर्ने सँगै आफू पनि स्वयं दानापानी दिने काममा सरिक भएको उनी बताउँछिन् । प्रदेश सरकारको पचास प्रतिशत अनुदानमा १० लाख प्राप्त गरी थप नयाँ खोर बनाएको र आफूले पनि त्यही अनुसार काम गर्दै गएको काम्मु भनाई छ । बङ्गुरका बच्चा किनेर ल्याउने र आफूले पछि ठुलो बनाएर बेच्ने गरेको उनले बताइन् । व्यवसायमा लाभ हुँदै गएपछि बङ्गुरको मासु बेच्नलाई पसल पनि खोलेर सञ्चालनमा ल्याएको उनले बताइन् ।
महिना बित्दै, वर्ष बित्दै जाँदा सुरुवाती चरणमा धेरै राम्रो प्रगति हुँदै गयो । छिमेकी जिल्लाहरू कपिलवस्तु, नवलपरासी, रुपन्देही, स्याङ्जा आदिबाट अवलोकन भ्रमण आएर आफूसँगै बङ्गुर फार्मको फोटो खिच्दा र सल्लाह तथा परामर्श दिन पाउँदा र प्रशंसा लिन पाउँदा निकै उत्साहित हुने गरेको उनले बताइन् ।
बङ्गुर व्यवसायीले केही सुविधा पाउनुपर्छ भन्ने उद्देश्यले आफूले जिल्ला, प्रदेश तथा स्थानीय तहमा समेत माग राखेको काम्मुले बताइन् । उनी अहिले बँगुर व्यवसायी सङ्घको अध्यक्ष हुन । प्रदेश, जिल्ला तथा स्थानीय तहमा आफ्ना माग सुनुवाई नभएकोमा उनी आक्रोसित छन् ।
धार्नीको ९ सयको हिसाबले ६०, ६५ किलो बङ्गुर भएपछि काट्ने गरेको र मासिक रुपमै ४० देखि ५० हजारसम्म कमाउने गरेको उनको भनाई छ । दिनमै एक, दुई जना प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा परामर्श लिने गरेको र परामर्शदातालाई आफूले बङ्गुर फार्म सम्बन्धी उचित परामर्श दिने गरेको उनी बताउँछिन् ।
व्यवसाय राम्रै फस्टाउँदै थियो । पालिकाले काडेतार वा जाली लगाउन भनेर पचास प्रतिशत अनुदानमा १ लाख रुपैयाँ उपलब्ध गराएको कुरा पनि उनले बताइन्।
अचानक कोरोनाको लहर छायो । मानिस मानिसबीच त्रास र भयको वातावरण सिर्जना भयो बाहिर ननिस्कने, बङ्गुरको मासु नखाने जस्ता कुराले बङ्गुर फारममा बङ्गुर थुप्रिन थाल्यो । दानापानी खुवाउन गाह्रो पर्यो, बङ्गुर बिक्न छाड्यो, घरमा पनि अटाउन छाडे । वनमा छोड्न नमिल्ने भएर अर्को खोर बनाए । जम्मा तीनवटा खोरमा एकवटामा माउ मात्र र बाँकी दुईवटामा बच्चाहरू मात्र राख्न थाले ।
अब व्यवसायमा पहिरो जान थाल्यो । ठूलो घाटा बेहोर्नु पर्यो कोरोनाको धक्का हालसम्म महसुस भएको छ । तसर्थ अहिले खोर धेरै बङ्गुर, थोरै हुन पुगे । माल हुँदा भाउ पाइन, भाउ हुँदा माल छैन भन्छिन् । मासु बेच्नेले पनि आफूले बेच्ने मूल्य नघटाउने तर किन्ने मूल्य घटाएर माग्ने, खसीबोका सरह सबैले बङ्गुर नखाने, सस्तोमा बिक्ने, बजार व्यवस्थापन उचित ढङ्गले नहुने कारण हाल अधिकांश बङ्गुर व्यवसायी यस्तो पीडा खेप्न बाध्य भएको उनले उनले बताइन् ।
उनी भन्छिन,“महिला भएर केही गर्छु भन्ने हिम्मतले खोलेकी थिए तर पुरुष प्रधान देशले भनौँ वा समुदायले अझै पनि आँखाबाट कालो पर्दा हटाउन नसकेको र महिलालाई पुरुष सरह अघि बढ्न धेरै गाह्रो भएको तितो र सत्य हो ।” अझै पनि हिम्मत हारेकी छैन स्थानीय सरकारले केही सहुलियत उपलब्ध गराएको खण्डमा पहिलाकै सुरुवाती दिनमा जस्तै बङ्गुरको वृद्धि गर्ने विश्वास राखेकी छन् ।
स्थानीय पत्रकार गजेन्द्र पन्थीका अनुसार, “कसैको सहयोग बिना आफ्नै बलले गर्न सक्नु सानो कुरा होइन । यो एउटा उदाहरणीय काम हो । उहाँको आँट, साहस र हिम्मत अत्यन्त प्रशंसनीय छ ।” चाहे भने महिलाले पनि पुरुष सरह केही गर्न सक्छन् भनेर गाउँमै उदाहरणीय व्यक्तित्व बन्नु ठूलो कुरा हो । महिलाले आटेका व्यवसायलाई सबैले साथ दिनु जरुरी रहेका बताए ।
माथागढी गाउँपालिका ४ का वडाका अध्यक्ष शंकर दलामीले भन्छन्,“वडामा पर्ने बजेट सानो हुन्छ । जसबाट विविध क्षेत्रमा खर्च गर्नुपर्ने भएकोले ठूला बङ्गुर फार्मलाई ठूला अनुदान वडाले दिन नसक्ने र साना अनुदानले कामै नचल्ने अवस्था छ ।” महिलाले आँटेर गर्नुभएको छ अझ थप ऊर्जाका साथ गाउँ ठाउँमा चलायमान गराउनको निम्ति भावी दिनमा वडाबाट गर्न मिल्ने र सक्ने सहयोग उपलब्ध गराउने समेत वडाध्यक्ष दर्लामीको प्रतिवद्धता छ ।





















