
तानसेन। जिल्लाको बगनासकाली गाउँपालिका–७, खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराईको रुखबाट खसेर बुधबार बिहान मृत्यु भएको छ । घाँस काट्ने क्रममा घरदेखि ३ सय मिटर पूर्व बारीमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट घाँस काट्न निस्किएका भट्टराई अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले बारीमा खोज्न गएका बेला लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रुखबाट खसेको स्थानीयले जानकारी गराए लगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
भट्टराईको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।