पाल्पा। पाल्पामा अनाथ बालबालिक, जेष्ठ नागरिक र बाढी पीडितका लागि सहयोग गर्ने उद्देश्यले रोपाइँ जात्रा निकालिएको छ । जिल्ला सदरमुकाम तानसेनमा यो वर्ष राज मञ्जु श्री कला केन्द्र र स्थानीय कलाकारहरुले रोपाईँ जात्रा निकालेका हुन् ।
गाईजात्राको भोलिपल्ट असारे भाका र पन्चेबाजाको तालमा गीत गाउदै नाच्दै, हलगोरु, बाउसे र रोपारीसहितका मानिसहरु सडकमा उत्रिएर रोपाइँको झल्को मेटाउँदै रोपाईँ जात्रा निकालिन्छ । रोपाइँ सकेपछि किसानले खुसियालीका रुपमा यो पर्व मनाउन सुरु गरेको पाइन्छ । सुरुमा नेवार जातिले मनाउन सुरु गरेको यो पर्व पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ ।
लोप हुने अवस्थाको जात्राको संरक्षण गर्दै आर्जन भएको रकमबाट बाढी पीडित, अनाथ बालबालिका तथा वद्धाहरुलाई सहयोग गर्ने उदेश्यले जात्रा निकालिएको काला केन्द्रका संचालक राज राईले बताए ।
रोपाईँ जात्रामा विगतमा जस्तो रौनक नदेखिए पनि सहायोग गर्न र ग्रामीण भेगमा गरिने धान रोपाईँको झल्को मेटाउन सदरकाममा स्थानीयहरुको चहलपहल देखिएको थियो । डेढ दशक अघिसम्म सदरमुकाम तानसेनसंगै जिल्लाभर दर्जनबढी स्थानमा निस्कने रोपाइँजात्रा केही वर्षदेखि निस्कीनै छाडेको छ ।
जात्राको मौलिकता मासिन नदिन स्थानीय कालाकारहरुले संरक्षणको पहल गर्दै आएको कलाकार विजय बम्रेलले बताए । खेतमा काम गरेर थाकेका कृषकलाई मनोरञ्जन दिन निकालिने यो जात्रा अहिले संस्कृति बन्दै आएको छ ।
संस्कृति संरक्षणमा स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।






