तानसेन। पाल्पामा खोलाले बगाएर दुई युवाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवक खोलाले बगाउँदा मृत अवस्थामा भेटिएका हुन्।
मृत्यु हुनेमा ३२ वर्षीय बिपिन पोख्रेल र २३ वर्षीय प्रबिन पुन रहेको प्रहरीले जनाएको छ। गत भदौ १५ गते बेलुकी करिब ६ बजे लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा सत्यवतीतर्फ गएका उनीहरू घर नफर्किएपछि परिवारले भदौ १७ गते बिहान अस्थायी प्रहरी पोष्ट बेलबासमा खबर गरेका थिए।
प्रहरी नायब निरीक्षकको टोली खटिएर खोजतलास गर्दा डुम्रेवासस्थित सडकबाट करिब ५ फिट तल ठाडोखोलामा उनीहरू चढेको मोटरसाइकल भेटिएको थियो। लगत्तै अघि बढेको प्रहरी टोलीले दुवै जनाको शव रुपन्देहीको सैनामैना–१० मौवाधारीस्थित कञ्चन खोलामा बगाएको अवस्थामा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार दुवै शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






