
तानसेन। सुरक्षित वैदेशिक रोजगारीका सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी देखिएको छ । तानसेन नगरपालिकाले गत आर्थिक वर्षदेखि सञ्चालन गर्दै आएको कार्यक्रमबाट सेवा लिनेको संख्या बढेसंगै कार्यक्रम प्रभावकारी देखिएको हो।
परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुले सेवा लिने क्रम बढेको छ।
हाल जिल्ला प्रशासन कार्यालयबाट सबै स्थानीय तहका नागरिकलाई सेवा दिदै आएको यो कार्यक्रमबाट चालु आर्थिक वर्षको पाँच हजार ६२ जनाले सेवा लिएका छन् । यो अवधिमा वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका तथा विदेश काम गर्न, अध्ययन गर्न गएका र विदेशबाट फर्किएका उक्त संख्याका व्यक्तिहरुलाई परामर्श दिने र आइपरेका समस्या समाधानमा सहयोग गर्ने काम गरेको कार्यक्रम जिल्ला संयोजक दिनेश घिमिरेले बताए।
यो कार्यक्रमले वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या र कानुनी सहायता प्रदान गरिर्दै आएको प्रमुख घिमिरेले बताए।
यस्तै वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका र शव झिकाउनुपर्ने २४ वटा समस्या चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकोमा ८ वटा ठगी र शव झिकाउने केशका समस्या समाधान गर्न सफल भएको प्रमुख घिमिरेले बताए।
जसमध्ये चार वटा ठगी र १२ वटा क्षतिपूर्तिका केशहरु समाधानका लागि प्रक्रियामा रहेका छन् । यस्तै परियोजनाबाट परामर्श लिने मध्येका १ सय ११ जनाको फलोअफ समेत भइरहेको बताइएकाे छ।