
काठमाडौं। नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ । चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेको हो ।
बुधबार पत्रकार सम्मेलन गरी बिहीबार देशभरका निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गरेको जानकारी दिइएको हो।
आन्दोलनका कार्यक्रम अनुसार देशभरका सम्पूर्ण चिकित्सकलाई बिहान १० बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेर्न आह्वान गरिएको छ। यसका साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ ।
चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।
नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ । आवासीय चिकित्सक २८ दिनसम्म पनि सडक उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासिनता देखाएको उनीहरुको अरोप छ ।