
लोकतन्त्र शब्दको निर्माण लोक र तन्त्र मिलेर बनेको हो । जसको अर्थ हुन्छ जनताको शासन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आफैंमा पर्यायवाची शब्द हुन् । सबैको नाममा फरक रहेतापनि काम एउटै हो । आज नेपालमा १९औ लोकतन्त्र दिवस मनाइदै छ । नेपालमा लोकतन्त्र ल्याउनका लागि लामो र ठूलाठूला सङ्घर्ष भएका छन् । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा हजारौं जनताको वलिदान रहेको छ। नेपालमा एकछत्र शासन गरेको शाही परिवारको शासन सत्ता जनताको हातमा ल्याउनु एउटा ठूलो चुनौतीको पहाड थियोे । २०५२ सालदेखि माओवादी जनयुद्ध र तत्कालीन सातदल बिचमा भएको सम्झौतामा र उक्त सम्झौतालाई आत्मसात् गरेर अगाडि बढेको १९ दिने जनआन्दोलनको बलमा २४० वर्षदेखि शासन गरेको शाही निरङ्कश सत्ताको अन्त्य भई लोकतन्त्रको स्थापना भएको हो । हजारौंको वलिदान, सयौं सहिदको सपना र लाखौं जनताको त्याग र तपस्याबाट तत्कालीन निरङ्कुश राजा ज्ञानेन्द्रले जनताको नासो जनतनलाई फिर्ता गरेका हुन् ।
लोकतन्त्र आफैंमा एक सुन्दर शासन व्यवस्था हो । विश्वको नवीनतम र आधुनिक शासनप्रणालीको रूपमा लोकतन्त्रलाई लिने गरिन्छ । हामी आज नेपालमा १९औं लोकतन्त्र दिवस मनाउँदैछौ । आजको दिन सम्म आइपुग्दा नेपाली राजनीतिक दलहरूले लोकतन्त्रलाई राम्रोसँग पहिचान गर्न नसक्दा जनतामा निराशाजनक अवस्था सिर्जना भएको छ। लोकतन्त्र स्थापना पश्चात् संसद्को पुनःस्थापना, अन्तरिम संविधानको घोषणा, संविधानसभाको निर्वाचन , नयाँ संविधानको घोषणा, दुईदुई पटक स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएका छन् । यो लोकतन्त्रको सुनौलो पक्ष हो । शासनव्यवस्था सङ्घीयतामा गएका छन्, जनताले आफूलाई मनपरेको प्रतिनिधि चुनेकाछन् । आज सिंहदरबार गाउँगाउँमा पुगेको छ । यो लोकतन्त्रको सफलता मान्न सकिन्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको सयौं फूलहरूलाई आफ्नो सुवास विचरण गर्न दिनु आफैंमा स्वर्णिम दृष्टान्त हो । माधव प्रसाद पाेखरेल (लालकिरण)
वर्तमानमा अवस्थामा लोकतन्त्र कतै संकटमा परेको त छैन आफ्नो स्वार्थको लागि केही पुरातनवादीहरूले फेरि टाउको उठाउने कुचेष्टा गर्दैछन् । आज लोकतन्त्रको नाममा फासीवादी शासन सञ्चालन हुँदैछ । लोकतन्त्रको नाममा भ्रष्टाचारलाई मलजल गरिए छ। जनतान्त्रिक शासनविरुद्ध देशीविदेशी प्रतिगामी तत्वहरूले नयाँनयाँ भ्रमको खेती गर्दैछन् । नेपालको सुन्दर प्राकृतिक छटामाथि गिद्वेदृष्टि लगाएर नेपाली भूमि चारैतिरबाट अतिक्रमण गरिएको अवस्था छ। नेपाली जनताको चाहना विपरीत अनेकौं परियोजना ल्याएर नेपाली जनताको ढाडसेक्ने काम लोकतन्त्रमा गरिएको छ। आज नेपाली जनताहरूमा आलोचना , आत्मालोचना र समालोचनाको राम्रो विकास भएको छ। आज नेपाली खेतीयोग्य जमिन मरूभूमि र कंक्रिटमा रूपान्तरण भएको छ। विकासको नाममा पर्यावरणीय विनाश भएको । असारे विकासले प्रश्रय पाएको छ । जनताको आधारभूत समस्या जस्ताका तस्तै छन्, । विद्यालय र विश्वविद्यालय रित्तो हुँदै गएको अवस्था छ भने राजनीतिक दलमा नातावाद, कृपावाद, व्यक्तिवाद, आत्मवाद, परिवारवाद, डलरवाद र लोभवादले नराम्ररी जरा गाँडेको छरपस्ट छ। नेपालका कुनै पनि दलले दूधले नुहाएर आएका होइनन् र छैनन् ।
सत्ता बाहिर हुँदा जनतन्त्र , जनजीविका र राष्ट्रियतापक्षमा आवाज उठ्छ तर जब सत्ता पुगिन्छ तब सबै हराएर जान्छन् । त्यसैको कारण आम नेपाली जनतामा निराशाजनक स्थिति उत्पन्न भएको हो । नेपाली जनताले २०६२/ ६३को जनआन्दोलन पछि निकै ठूलो आश गरेको अवस्था हो । माओवादीलाई जनताले मत दिएर देशको ठूलो दल बनाएकै हो । उसमाथि जनताको ठूलो अपेक्षा थियो विडम्बना उसले सत्तामा पुगेर जनतन्त्रवाद अनुसार काम गर्न सकेन फलस्वरूप सरकार ढाल्ने र बनाउने काम मात्रै भयो । देशव्यापी रूपमा हत्या, अपहरण , शरणार्थी , सुनकाण्ड, बलात्कार, आपसी झैझगडामा देश नराम्ररी फस्यो तर राजनीतिक दलले यसको निरूपण गर्न सकेनन् जसको फलस्वरूप आजको अवस्था सिर्जना भएको हो ।
आज देशको वैदेशिक ऋण ज्यामितिय हिसाबले बढेको छ,देशको अर्थतन्त्र जर्जर अवस्थामा छ, उद्योगधन्दा कलकारखाना सबै कौडीको भाउमा लिलाम गरिएको छ, सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको कारण घाटामा रहेका छन् न्यायको ठाउँमा अन्याय , धर्मको ठाउँमा पाप र सत्यको ठाउँमा अस्त्यको जित भएको छ। भारतीय विस्तारवादी नीति र अमेरिकी सामराज्यवादी नीतिले देश थिलोथिलो भएको छ। यहीँ हो लोकतान्त्रिक शासन व्यवस्थाले गाउँ रित्तो भएको छ, युवाहरू दैनिक २२०० को दरले विदेशीका छन् भने दैनिक ३ ओटा शव बाकसमा भित्र्याउने देश विदेशी रेमिट्यान्सबाट चलेको छ। सम्पूर्ण व्यापार घाटा छ। अब तपाईं देशको नेतृत्व गर्ने दलले चिसो दिमागले सोचनुहोस् ।
आज नेपालीको कुल आम्दानी कति छ ? शिक्षा, स्वास्थ्यमा निजीकरण गरिएको छ। बजार भाउ आकासिएको छ । के यहीँ हो लोकतन्त्रको सबल पक्ष ? लोकतन्त्र आइसकेपछि जनताले ठूलो न्यायको अनुभव गरेको अवस्था हो ? जातजाति, भाषाभाषी, धर्म, वर्ण, लिङ्ग सबैको समानुपातिक प्रतिनिधित्व भएको छ यो लोकतन्त्रको अत्यन्तै सुन्दर पक्ष मानिन्छ । देशले शासन व्यवस्थामा त युगान्तकारी परिवर्तन त गर्यो तर जनताको अवस्था जस्ताको तस्तै रह्यो । आउँदा दिनहरूमा राजनीतिक दलहरू नयाँ र आधुनिकीकरण ढंगले जनताको अवस्थामा परिवर्तन गर्न नलाग्ने हो भने ओठले मात्रै लोकतन्त्रको भजन गाउनु अर्थ हुँदैन ।लेखक एकीकृत अखिल नेपाल शिक्षक संगठनका राष्ट्रिय परिषद् सदस्य हुन