२९ दिनको बौद्विक आन्दोलन : शिक्षा परिवर्तनका लागि बौद्धिक विद्रोह

शिक्षक समाजको अगुवा, सचेत र शिक्षाका नयाँ नयाँ चेतनामूलक सन्देश विचरण गर्ने बुद्धिजीवी वर्ग हो । समाजमा रहेका तमाम अन्याय , असमानता र अन्धविश्वासको खाडललाई हटाएर आदर्श समाजको रेखाचित्र कोर्ने काम शिक्षक नै हुन् । देशको समग्र विकासको प्रमुख आधार भनेको नै शिक्षा हो । उक्त शिक्षालाई प्रयोगमा ल्याउने काम शिक्षकले मात्र गर्न सक्छन् ।

२००७ साल देखि नेपालमा १० र १२ वर्षको अन्तरालमा ठूलाठूला राजनीतिक परिवर्तन भएको इतिहास छ। राजनीतिक र प्रशासनिक व्यवस्था परिवर्तन भएँ । शासन सत्ता जतिसुकै उत्तम भए पनि सत्ताको केन्द्रमा रहने शासकले समयअनुसार शिक्षामा परिवर्तन गर्न नचाहेको तितो सत्य हो । एकतन्त्रीय राणाशासनको पतन भएको सात दशक भन्दा, २४० वर्षे शाही परिवारको अन्त्य र नेपाल संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थापनमा रूपान्तरण भएर काँचुली फेरेको अवस्था छ । विडम्बना नेपालको शिक्षा नीति तत्कालीन राजा महेन्द्रले २०२८ सालमा जारी गरेको पञ्चायती ऐन अहिले पनि जीवितै छ । शासन सत्तामा नयाँ प्रणाली लागु भए पनि शिक्षाक्षेत्र झन्झन् जटिलता तर्फ मुखरित हुँदै गएको आभास पाइन्छ ।

माधव प्रसाद पाेखरेल (लालकिरण)

अहिलेको शिक्षा मूलतः निजीकरण, व्यापारीकरण, अनुत्पादक र सार्वजनिक विद्यालयलाई धरासायी बनाउने, शैक्षिक माफियासँग चोचोमोचो मिलाएर सार्वजनिक विद्यालयमा अनेकौं प्रकारका नामधारी अस्थायी प्रकृतिका शिक्षक जन्माउने काम भैरहेको छ । देशभरका चारलाख भन्दा बढी शिक्षकहरूको साँझ संगठन नेपाल शिक्षक महासंघको मूल नेतृत्वमा २९ दिने बौद्विक आन्दोलन भएको थियोे । २९ दिने बौद्विक आन्दोलनको मुख्य माग भनेका देशमा एकै प्रकारका शिक्षक हुनुपर्ने, विगतमा नेपाल शिक्षक महासंघ र सरकार बिचमा भएका सहमति अक्षरस पालना गरी युग र माटो र बाटो सुहाउँदो नयाँ शिक्षा ऐनको जारी , संविधानमा उल्लेख भए अनुसार विद्यालय शिक्षा नि : शुल्क लगायतका मागहरू राखेर राजधानीको मुटु माइतीघर मण्डलामा २९ दिन सम्म निरन्तर बौद्विक आन्दोलन भएको थियोे ।

नेपाल शिक्षक महासंघको आयोजनामा भएको वृहत् शैक्षिक आन्दोलन समग्र देशको शिक्षा नीतिसँग सम्बन्धित आन्दोलन थियोे । २१ औं शताब्दीको विश्व परिवेशलाई आत्मसात् गर्ने , देशको माटो र युवाहरूको बाटोलाई केन्द्रमा राख्ने, संविधानमा प्रत्याभूत भएको शिक्षा निः शुल्क शिक्षा ऐन, शिक्षकको पेसागत सुरक्षा, सेवा, सुविधा, अबको शिक्षा जीवनवादी, उत्पादनमूलक, सीपमूलक, प्रयोगवादी, व्यवहारमा आधारित हुनुपर्छ । अब परम्परागत र शास्त्रीय शिक्षाको विकल्प खोज्जु पर्छ । रोजगारमूलक र राष्ट्र निर्माणको उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने, विश्वले नेत्र घुमाउन सक्ने शिक्षा हुनुपर्छ भन्ने मूल ध्येय आन्दोलनको थियोे ।

आन्दोलनमा देशभरका विभिन्न भाषा, कला, संस्कृत, नृत्य, गीत, जादु, भजन, उखान, टुक्का, पश्चिमी देउडा, सेलो आदि रचनात्मक र सिर्जनात्मक प्रस्तुतिले आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियोे । दैनिक विद्यालय पोशाकमा ठिक समयमा उपस्थित सभ्यरूपमा आन्दोलन अवधिभर सडकमा कुनै फोहोर नगरीकन, भएका फोहोर उठाउने, सडक छेउछाउमा भएका फूल तथा वृक्षका शाखान्तहरूमा कुनै असर नगरीकन, कहिले सिठ्ठी, कहिले माक्स लगाएर, अहिंसात्मक, कुनै ढुंगामुढा, लाठी केही पनि नलिई कार्यक्रमका नयाँ नयाँ विकल्पहरू निर्धारण गरिएको नेपालमै यस समयको अहिलको पुस्ताको सबैभन्दा ठूलो, ऐतिहासिक, आधुनिक शान्तिपूर्ण आन्दोलन हो जुन विश्वका बौद्विक श्रमजीवीहरूका लागि नयाँ अनुकरणीय र ज्वलन्त दृष्टान्त पनि हो ।

नेपालको अहिलेसम्मकै शैक्षिक आन्दोलनको रूपरेखा अध्ययन गर्दा २०३६ सालमा मकवानपुर जिल्लाको भुटन देवी माध्यमिक विद्यालयबाट सुरु भएको शैक्षिक आन्दोलन १ महिनासम्म चलेको थियोे । उक्त आन्दोलन सायदै नेपाली शिक्षा आन्दोलनको पहिलो हो । जुन आन्दोलनमा शिक्षा क्षेत्रका केही मागहरू आंशिक रूपमा सम्बोधन भएका थिए । उक्त आन्दोलनकै जगमा टेकेर २०३६ सालमा १०४ दिन, २०४१ सालमा ६ महिनासम्म, २०७८ र २०८० हुँदै २०८१र८२ मा सञ्चालित शैक्षिक आन्दोलन इतिहास छ। विश्वका देशहरूमा विरलै मात्रामा शिक्षकहरू अग्रगामी शिक्षा नीतिको माग गर्दै सडकमा आउँछन् । किनभने त्यस देशका शासकहरूले शिक्षाक्षेत्रको बारेमा गहिरो अध्ययन गरेर आफ्नो देशलाई विकासको शिखरमा पुर्‍याएका छन् । अमेरिका जुन आफूलाई विश्वको महान् तथा शक्तिशाली राष्ट्रको रूपमा परिचित छ त्यहाँ पनि ८ महिनासम्म लामो शैक्षिक आन्दोलन चल्यो जसको फलस्वरूप शिक्षाक्षेत्रमा कायापलट गरायो ।

हाम्रो देशमा अहिलेसम्म परम्परागत रूपमा चलेको पाठ्यक्रम छ, जुन पाठ्यक्रमले नयाँ जनशक्ति उत्पादन गर्ने चेष्टा गर्दैन । शिक्षक आन्दोलनको अर्को महत्त्वपूर्ण पक्ष भनेको समय सुहाउँदो पाठ्यक्रम परिवर्तन गर्नुपर्नेछ, युग, परिवेश सुहाउँदो र बालवालिकाको रूचिअनुसार पाठ्यक्रम उचित परिवर्तन गरियोस् भन्ने थियो । धनी वर्ग र गरिब वर्गका सन्तानले एकै प्रकारको विद्यालयबाट एकै प्रकारको शिक्षा हासिल गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथमा चलेको महान् शैक्षिक आन्दोलनको यात्रामा अभिभावक, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरू, पूर्व मन्त्री, पूर्व, प्रधानमन्त्रीहरू, सञ्चारकर्मीहरू, चिकित्सक, निजामती कर्मचारी, अधिवक्ता, विश्व शिक्षक मञ्चका लगायत सम्पूर्ण देशवासीहरूको न्यानो सद्भाव, समर्थन र एक्यवद्धता थियोे । यो युगकै शैक्षिक क्षेत्रको (कोसेढुङ्गा) बन्न सफल भएको थियो ।

आफ्नो पेसागत हकहित र शिक्षाक्षेत्रमा आमूल परिवर्तनको माग सहित देशभरबाट पाल्नुहुने आदरणीय गुरु तथा गुरूमाहरू काठमाडौंको वायुप्रदूषणमा आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै, चर्को घाममा, भोक, प्यासलाई थाती राखेर, सुख सुविधालाई पन्छाएर, सानासाना बालबालिका काखमा च्यापेर, घरबाट ऋण धन गरेर राजधानी जस्तो महङ्गो र परिवेश नबुझेको ठाउँमा २९ दिन सम्मको महान् शैक्षिक आन्दोलनमा सक्रिय सहभागी हुनु अवश्य पनि सहज होइन् ।

रहरले नभए बाध्यताले सिर्जना गरेको उक्त शैक्षिक आन्दोलनको अपेक्षा अग्रगामी, प्रगतिशील, विगतमा नेपाल सरकार र शिक्षक महासंघ बिचमा भएका सबै सहमतिलाई अक्षरस पालना गर्दै विद्यालय शिक्षा ऐन जारीहोस् । नेपाल शिक्षक महासंघको अग्रगामी, दूरदृष्टि , स्पष्ट चट्टानी अडानकै कारण जे जति उपलब्धि भएका छन् त्यो पूर्ण भने होइन् । नेपाली शिक्षकहरू आधुनिक शिक्षा ऐनको प्रतिक्षामा हुनुहुन्छ । उहाँहरूको चाहना पूर्ण होस्। शिक्षाक्षेत्रमा नयाँ परिवर्तन आँओस्। अब नयाँ पुस्ताले आन्दोलन गर्न नपरोस् । सबैले कल्याण होस्। देशका सबै नागरिकले नि : शुल्क र सीपमूलक शिक्षा हासिल गर्न पाऊन । सबै राजनीतिक दलको नेतृत्वमा नयाँ चेताननको विजारोपण होस् : शुभकामना ।

तपाईको प्रतिक्रिया