तानसेन। वर्षायाम सुरु भएसंगै पाल्पाका मुख्य राजमार्गमा रात्रीकालीन सवारी संचालनमा रोक लागाइने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठक बसेर सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गरी जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले रात्रीकालीन सवारी संचालनमा कडाइ गर्ने जनाएको छ ।
अत्यावश्यक बाहेकका सवारी संचालन रोक लगाउँदै जारी विज्ञप्तिमा भनिएको छ, –‘रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिन्छ ।’ रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू सिद्धबाबा – राम्दी सडकखण्ड, तानसेन – रिडी – तम्घास सडक, हार्थोक, छहरा, तिनगिरे, आर्यभञ्ज्याङ, ताहु – रामपुर सडकखण्ड रहेको छ ।
समितिले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ ।
पाल्पामा गत वर्ष पनि मनसुन अवधिभर रातिको समयमा सवारी साधन सञ्चालन नगर्न स्थानीय प्रशासनले रोक लगाएको थियो।





















