तानसेन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले तानसेन र तिनाउमा नागरिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ । सडक र सवारी प्रयोग गर्दा नागरिकले बेहोर्नु परेका समस्या र ट्राफिक प्रहरीसंग जोडिएका विषयलाई सम्बोधन गर्नका लागि तानसेनको प्रभास तथा तिनाउको झुम्सामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सुनुवाइमा नागरिकले उठान गरेका विषयलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्याल पाल्पाका प्रमुख प्रवीन आचार्यले आफू प्रमुख भएर आएदेखि सवारी चेकजाँच, सरोकारावालासंग छलफल तथा दुर्घटना न्यूनीकरणलगायतका सचेतनाका कामहरुमा गर्दै आएको बताए । प्रमुख आचार्यले सहभागीहरुलाई यात्राका क्रममा आइपर्ने समस्याबारे सिधै ट्राफिक प्रहरीलाई सम्पर्क गर्नका लागि पनि अनुरोध गरे ।
प्रभासको सुनुवाइमा तानसेन ७ का वडाअध्क्ष प्रदीप खनाल, झुम्सामा तिनाउ ३ का वडाध्यक्ष चित्र बहादुर थापा, स्थानीय प्रहरी चौकीका प्रमुखहरु, सवारी मर्मत केन्द्रका संचालक तथा मेकानिकहरु, नागरिक समाज र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सहभागी जनप्रतिनिधिले आफूहरु मुख्य राजमार्गमा पर्ने वडाको जनप्रतिनिधि भएका कारण राजमार्गमा आइपर्ने समस्या समाधान तथा आवश्यक समन्वयका लागि आफूहरु सधैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा सवारी मर्मत केन्द्रका मेकानिकहरुसंग पनि छलफल गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।






















