‘बटुक’ जीविकोपार्जन

तानसेन। मगर समुदायबाट प्रचलनमा आएको तर, सबै समुदायले यसको स्वाद मन पराउने बारा एवं बटुकको विक्रीबाट पाल्पाको विभिन्न स्थानमा मनग्य आम्दानी गर्न स्थानीय सफल भएका छन् । खासगरी सदार्थ राजमार्गको तानसेन बुटवल सड खण्डका दर्जनबढी होटलहरु यही व्यवसय गरेर जीविकोपार्जन मात्रै होइन्, मनग्य आम्दानी गर्न समेत सफल भएका छन् । यहाँ तानसेन ६ बतुङ्गमा गरिएको बटुक व्यपारसंग जोडिएर यो लेख तयार पारिएको छ ।

पृष्ठभूमिः
यो खोजमूलक लेखनकार्य पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा न ६ मा पर्ने बर्तुङमा बटुक बेचेर जीविकोपार्जन गरिरहेका ८ घरलाई नमुनाको रूपमा लिएर यो लेखनकार्य तयार गरिएको छ । बटुक व्यवसाय सानो स्केलको र कडा परिश्रम गर्नुपर्ने भएतापनि यसले सम्बन्धित संलग्न घर परिवारको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गरेको छ । नियमपूर्वक कुनै पनि पसल दर्ता नगरी दिनभरी गाडीमा सवार यात्रुहरूलाई केन्द्रित गरी संचालित यो पेशाबाट कडा र नियमित मिहेनत, कर्ताको सिर्जनशिलता र फरक स्वादसहितको खाने परिकार बेचेर कसरी गैर परम्परागत पेशा अवलम्बन गरी यात्रुहरूको मन जित्न सफल भएका छन र आफ्नो आम्दानी वृद्धि गर्न सकेका छन भन्ने तर्फ लेखको खोज केन्द्रित छ । न्यून लगानीमा उच्च प्रतिफल हासिल गरी बेरोजगारी घटाउन र जीविकोपार्जन गर्न बर्तुङका केही साना पेशाकर्मीहरू सफल भएका देखिन्छन । पेशामा आत्मासम्मानका साथ लाज, संकोच नमानी आफ्नो सीप क्षमतामार्फत आफ्नो कार्यमा दत्तचित्त भएर लाग्ने हो भने अवश्य सफल हुने र लगानी भन्दा मेहेनत र बिक्रीको अलग प्रस्तुतिले जो कोहीले पनी सफलता हासिल गर्न सक्षम हुन्छ भन्ने उदाहरण यसमा खोजिएको छ । यद्यपि बर्तुङका ति व्यवसायीहरूको दीर्घकालिन आम्दानीको सुनिश्चितता, नियमपूर्वक व्यवसाय दर्ता हुने कुरा, ट्राफिक जोखिमपना र केही खाद्य गुणस्तरको सवाल समेतलाई नजरअन्दाज गर्न नहुनेतर्फ सचेत रही यो अनुसन्धान प्रतिवेदन तयार गरिएको छ । जुन दिनदेखि बर्तुङमा बाटो र चोक बन्यो त्यही दिनदेखि नै चोकमा बसेर बटुक बेच्ने र आफ्नो जीविकोपार्जन गर्ने गरेको तथ्य यस प्रतिवेदनबाट खोजिएको छ । एउटा बाटो तानसेन जाने र अर्को बाटो पोखरातर्फ जाने र मानिसहरू समेत सोही बाटो भएर पैदलमार्ग प्रयोग गरी तानसेन जाने गरेको तथ्य देखिन्छ ।

 


बटुक बनाउन धेरै ज्ञान सीप नचाहिने र पुर्ख्यौली पेशा समेत भएकोले मगरहरूले नै यो पेशा अवलम्बन गरेको देखिन्छ । बटुकको अलावा अन्य स्थानीय उत्पादन जस्तै केरा, तरकारी, काफल, उखु, रक्सी समेत उनीहरूले बेच्ने गरेको तथ्य यस अध्ययनबाट प्रष्ट हुन्छ। हाल करिव ठुला वस, ट्रक, टिपर प्रतिदिन ३०० देखि ३५०, मध्यम आकारको जिप,भ्यान, कार आदी ३५०।४०० र दुइ पांग्रे सवारी प्रतिदिन ५००।६०० का यात्रीहरू नै बटुक व्यवसायीका प्रमुख क्रेताहरू वा उपभोक्ताहरू भएको पाइन्छ। यद्यपी पछिल्लो समय स्थानीय समाजमा हुने विवाह, भोज, माघी आदी जस्ता रिती र चाडपर्वमा समेत बटुक खपत भई राम्रो आम्दानी सृजना भएको तथ्य देखिन्छ।

परिचय
बटुक एक प्रचुर प्रोटिनयुक्त मगर समुदाएको बिशेष ज्ञान, सीप र प्राचिन क्षमताबाट निर्मित एक उत्कृष्ट खाजाको परिकार अथावा कोशेली हो । जहाँसम्म इतिहासको कुरा गर्ने हो भने कृषि युगसँगै बारा बनाउने र खाने गरेको पाइन्छ । बारालाई पछि भाषिक हिन्दुकरण पश्चात बटुक भन्ने शब्द प्रयोग गर्न थालियो । बटुक आकारको हिसाबले गोलो आकारको हुन्छ ।

बटुकको इतिहासबारे व्यवस्थित जानकारी लिपिबद्ध पाइदैन । मगरहरूको नयाँ वर्ष माघी, पितृपूजा (पितृहरूको सम्झना गरिने विशेष पूजा) विवाह आदिमा अनिवार्य रूपमा सगुन वा प्रसाद तथा पाहुरको रूपमा प्रयोग गरिन्छ । तानसेन नगरपालिका नेपालको पुरानो प्रशासनक विभाजन अनुसार पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाल्पा जिल्ला र हालको लुम्बिनी प्रदेशमा पर्दछ । नेपालको पुरानो नगरपालिकाको रूपमा तानसेन नगरपालिकाको स्थापना वि.स. २००७ साल चैत्रमा ११ वडा कायम गरी भएको हो । वि.सं. २०४८ सालमा ४ वडा थप गरी यस नगरपालिकामा १५ वडा कायम गरिएको थियो । त्यसपछि संघीय संरचना अनुसार २०७३ फागुन २२ मा साविकका तानसेन नगरपालिकामा, वराङदीका (२–६), मदनपोखरा, तेल्घा, बन्दिपोखरा, बौघापोखराथोक, बौघागुम्हा र अर्गली गागँ विकास समितिलाई समावेस गरी तानसेन नगरपालिकाको नयाँ संरचनामा १४ वडा कायम गरिएको छ ।

सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रूद्र सेनले वि.स. १५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए । त्यस समयमा पाल्पाका शक्तिशाली राजाको रुपमा उनले राज्यको विस्तार गरी आफ्नो राज्यको राजधानी तानसेनलाई बनाएको पाइन्छ । तानसेन नगरपालिका लुम्बिनी प्रदेश कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । तानसेन नगरपालिका १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ र ५०,४०५ जनसंख्या रहेको छ । पूर्वमा बगनासकाली गाउँपालिका पश्चिममा रिब्दीकोट गाउँपालिका, उत्तरमा स्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन ।

तानसेन नगरपालिकाको वडा नं ६ साबिक तानसेन ३, ९ र ११ समेत मिलेर बनेको छ । वडा नं ६ तानसेन नगरपालिकाको कार्यालयदेखि दक्षिणी भेगमा पर्दछ ।यस वडामा जम्मा ११६० घरधुरी छन । ६.३९ वर्ग किमीमा फैलिएको यस वडामा जम्मा ४६४२ जनसंख्या रहेको छ । वडा न ६ का विभिन्न स्थानहरू मध्ये बर्तुङ एक चर्चित स्थान हो । सिदार्थ राजमार्ग करिब १८१ किलोमिटर सडक खण्डको सिदार्थनगरबाट करिब ६५ किमी दुरीमा बर्तुङ अवस्थित छ। बर्तुङवाट नै तानसेन हुदैं गुल्मी जाने वा पोखरा जाने भन्ने छुट्टिन्छ ।तानसेन बसपार्कवाट करिव ५ किमीको दुरी बर्तुङ अवस्थित छ । बर्तुङ समुन्द्री सतहबाट करिव १२०० मिटरको उचाईमा पर्दछ । –(तानसेन नगरपालिका कार्यालय)

 

तानसेन बटुकको लागि आधारभूमि हो । किनकी यहाँ मगर समुदाएको बाहुल्यता रहेको छ । यद्यपी जाडोमा शिरिरलाई अधिक प्रोटिन पाइने अर्थात गर्मी उत्पन्न गर्ने परिकारहरू माघिको अवसर पारी खाने चलन प्रचलित छ । मगरको अलावा यहाँका अन्य समुदायले पनि यस परिकारलाई विवाह, भोज, तथा अन्य मौकिलर सास्कृतिक कार्यक्रमको अवसर पारेर खाने गर्दछन ।

पश्चिमी नेपालमा बटुक भनिने यो परिकार पूर्वी भेगको फुलौरा जस्तै हो । तर बटुकको बिचमा प्वाल पारेर डोनट जस्तै आकारमा बनाइन्छ भने फुलौरा मस्यौरा जस्तै बनाउने चलन छ । दालजन्य खाधान्न (केराउ, बोडी, झिलुंगी, मास, चना आदी…) अदुवाको पेस्ट, लसुन पेस्ट, बेसार, स्वाद अनुसार नुन, तेल वा घिउ, आदिबाट बटुक निर्माण गरिन्छ । खासगरी यो पश्चिम नेपालको मगर समुदाएको खानाको परिकार हो । सबै भाषाभासी र जातजाती समिश्रित सानो सेमी पेरिफेरी बजार बर्तुङ हो । पाल्पा र गुल्मी जिल्ला बढी प्रख्यात छ । यसलाई विवाहमा, अन्य विशेष चाडपर्वमा र माघे संक्रान्तिमा बढी प्रयोग गरिन्छ । बटुकमा प्रयोग हुने दालजन्य पदार्थ पिस्नको लागि ढिकी, झातो, कोल परम्परागत मेसिनको सहायता लिने गरिन्थ्यो भने आजभोली मेसिनको सहायताले पनि पिस्ने गरिन्छ । खाना खानु अघि प्रसादको रूपमा समेत प्रयोग गरिने बटुक मौलिक र स्थानीय उत्पादन हो । बटुक व्यसायीक भन्दा पनि उपभोक र एक संस्कृति जन्य विशेष महत्वको लागि बनाउने प्रचनल छ ।मगर वा जनजाति केन्द्रित भएतापनि हाल सबै जातजातिका लागि बटुक लोकप्रिय र स्वादिष्ट प्रसाद, अर्नी, वा भोजनको रूपमा रहेको छ ।

बटुक बेच्नेहरूको जीविकोपार्जन
मगर भाषाको बारा शब्द लामो समयसम्म अभ्यास भइरहने क्रममा बटुक शब्दावलीमा परिणत भयो । जो आकारमा गोलो आकारको हुन्छ । यसलाइ बनाउने तरिकाहरूलाई निम्नानुसार वर्गीकरण गरिएको छ । मगर समुदाएबाट उत्पादित बारा हाल सबै जातजाति र समुदायसम्म फैलिएको छ। भौगोलिक क्षेत्रको हिसाबले पाल्पा र गुल्मी केन्द्रित भएको र फैलिन सकेको देखिदैन । संस्कृतिजन्य इतिहास बोकेको बटुकले हाल व्यवसायीकता समेत पाएको छ । बटुक बेचेर उनीहरूको पारिवारिक शिक्षाको अवस्थामा परिवर्तन आएको छ । स्वास्थ्यको अवस्थामा परिवर्तन आएको छ । गुणस्तरीय जीवन जिउने अवस्थामा परिवर्तन आएको छ । सामाजिक सम्बन्धहरूमा सकारात्मक सम्बन्ध विस्तार भएको छ । आर्थिक हिसाबले मजबुत बनाएको छ । सामाजिक हेराई अर्थात् दृष्टिकोणमा समेत सकारात्मक प्रभाव परेको छ । त्यसकारण बटुक बेच्नेहरुका लागि यो महत्त्वपूर्ण अङ्ग बनेको छ । यस क्षेत्रमा वार्षिक करिब दुई करोडको कारोवार हुने गरेको पाइन्छ।

 

आधार

परम्परागत प्रयोग (स्थानीय)

Gemeinschaft

आधुनिक प्रयोग (आयातित)

Gesellschaft

दाल कुट्ने औजार ढिकी, झांतो मेसिन, मिक्चार
दालको प्रकार झिलुंगी, बोडी.. केराउ..
तेल बंगुरको/जनावरको बोसो, कालो तिल… तोरी, स्वायविन, सूर्यमुखी..
पोल्ने बिधि दाउरा ग्यास
अचार बन्ने सामग्री सानो आकारको गोलभेडा (सिलौटा) टमाटर.. (मिक्चार)
बनाउने समय माघी, बिबाह, पजाआजा… आवश्यकता अनुसार
प्रयोजन संस्कृतिजन्य व्यवसायिक
समय लागत धेरै थोरै

 

पेशाका चुनौतीहरूः
१) पसल दर्ता नहुँदा राज्यले वेलावखत दुख दिनु ।
२) पेशागत विमाको प्रवन्ध नहुँदा जोखिम बढ्नु । राजमार्गको क्षेत्राधिकार भित्र व्यवसाय गर्न बन्देज छ।
३) दीर्घकालिन व्यवसायको अनिश्चितता बढ्नु (उमेर बढेसँगै काम गर्न नसक्नु)।
४) परिवारका नयाँ सदस्यले पेशाप्रति अरुचि देखाउनु, लाज मान्नु ।
५) प्रमूख कच्चापदार्थ केराउ र तेलको बजाउ भाउ आकाशिनु ।
६) बेच्न बाँकी रहेमा सुरक्षित गर्ने भण्डारणको अभाव हुनु ।
७) स्थानीय व्यवसायीहरू (दर्तावाला पसलेहरू) ले आफ्नो पसल अगाडी बेच्नमा रोक लगाउनु ।
८) राजमार्गको धुलोले स्वास्थ्यमा असार पुर्याउनु । गाडीको नियमित ध्वनीले असर पुर्याउनु ।
९) गाडीवालाले गाडी नरोक्नु र रोकिहालेमा थोरै समयमात्र रोक्नु ।
१०) ट्राफिक जोखिम बढेको भन्दै प्रहरीवाट गाडीमा बटुक वेच्न रोक लगाउनु ।
११) फोहोर व्यवस्थापनमा समय खर्चिनु पर्ने।
१२) बन्द हड्तालको समस्या ।

रोजगारीमा हुने जोखिम व्यवस्थापन
बटुक बेच्नेहरूको पेशासँग सम्बन्धित जोखिम र चुनौतीहरूको व्यवस्थापन गरी पेशालाई मर्यादित र सम्मानयोग्य बनाउन व्यक्ति, समाज र राज्यको त्रिपक्षीय सहकार्य र योगदानको आवश्यकता जरूरी छ । निम्न केही जोखिम व्यवस्थापनका बुदाँहरूको व्याख्या गरिएको छ।

१) पसल वा व्यवसाय दर्ता गरी संचालन गर्नु । स्थानीय सरकारबाट कर छुट गर्नु ।
२) बसका यात्रीहरूलाई लक्षित गरी बटुक घर संचालन गर्ने । साझा बटुक घरमा सबैको उत्पादन संग्रह गरी सोही स्थानबाट बेच्ने ।
३) बटुकमा प्रयोग हुने प्रमूख कच्चा पदार्थ (केराउ, तेल…) मा स्थानीय सरकारबाट अनुदान प्रदान गर्ने ।
४) रोजगारीको सुरक्षाको लागि राज्यले बटुकको बजारको ग्यारेन्टी गर्न सक्नुपर्दछ ।
५) वरिपरिको समाजले श्रमप्रति हेर्ने सामाजिक दृष्टिकोणमा सुधार हुन् जरूरी छ ।
६) बटुकको भण्डारण, गुणस्तर कायम र ब्राण्डीङ गर्न राज्यले सघाउनु पर्छ ।
७) बसमा दौडिने जोखिम, धुलो, धुवा, ध्वनी प्रदूषण आदिबारे व्यक्ति स्वयं सचेत हुन् जरूरी छ ।

गुणस्तरीय जीवनमा सुधार
बटुक बेचर आम्दानी हासिल गरी बचत समेत गरिसक्दा, शिक्षा, स्वास्थ्य, रोजगार, गास, बास, कपास आदीमा पहिलेको तुलनामा धेरैको गुणस्तरीय जीवनमा सुधार भएको छ । कतिपयले आफ्ना छोराछोरीलाई निजि विद्यालयमा समेत पढाउन सकेका छन । पहिले आफुलाई मन परेको कपडा लगाउन र मन परेको चिज खानको लागि सोच्नुपर्ने अवस्था थियो भने अहिले पहिलेको तुलनामा धेरै सहज भएको पाइयो ।

स्वास्थ्य सेवामा पहुँचः

आफु बिरामी भैयो भने बटुक बेच्न नपाइने र आम्दानी समेत नहुने हुदाँ पेशाबाट हुने नियमित आम्दानीका लागि स्वास्थ्य हुन अनिवार्य छ । सन्तोष गैरेले आफ्नो बुवाको २ वटै किड्नी फेल भएको जटिल स्वास्थ्य अवस्थामा हुने आर्थिक व्ययभारलाई समेत सहज गरी अन्य इच्छाइएका आवश्यकताहरू परिपूर्ति गर्न सकेका छन् । धेरैजसोले आफ्नो स्वास्थ्य बीमा गरेको पाइयो । बिरामी हुँदा कमाई नहुने भएपछि आफ्नो स्वास्थ्यको बारेमा सबै जना सचेत रहेको देखिन्छ। बर्तुंङ बजारको नजिकै भएको र स्वास्थ्य संस्थाहरू पनि नजिकै (मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, जिल्ला अस्पताल, आदी…) भएको कारणले र राज्यको स्वास्थ्य बीमाको कारण उनीहरूले नियमित स्वास्थ्य चेकजांच गर्न गरेको देखिन्छ । बटुक बेचेर आर्जित पैसाबाट सबैले स्वस्थमा पहुँच र सचेतना बढाएको देखिन्छ ।

खाद्यान्न आपूर्तिमा सहयोगः
खाधान्न सबैलाई नियमित चाहिने अनिवार्य तत्व हो । खाना बिना मानिस बाच्न सम्भव छैन । बटुक बेच्नेहरूले पनि आफ्नो मनपरेको खाद्यान्न नियमित उपयोग गर्दछन । मनपरेको खाद्यान्न खरिद गर्न बटुक पेशा सहयोगी भएको छ । कतिपयको दैनिक जीवनमा मन परेको खाधान्न उपभोग गर्न कठिन परिरहेको अवस्थालाई स्वीकार गर्दै हाल भने बटुक पेशाबाट आर्जित पैसाले दैनिकीलाई सहज बनेको बताएका छन् । त्यसकारण राजमार्गमा संघर्ष गरेर बटुक बिक्रि गरी आफ्नो भान्सामा खाद्यान्न खरिदलाई सजिलो बनाएको देखिन्छ ।

शिक्षाको अवस्थाः
बटुक बेच्ने व्यक्तिहरूको शैक्षिक अवस्थालाई हेर्ने हो भने, सामान्यतया शैक्षिक उपाधी कमजोर भएको देखिन्छ। १ जनाले मात्र इसईईसम्म पास गरेको, ६ जनाले साधारण बढीमा ७ कक्षासम्म पढेको र १ जना त सामान्य साक्षर मात्र रहेको देखिन्छ । वास्तवमा जीविकोपार्जन गर्न शिक्षा मात्र जिम्मेवार नहुने बरू मेहेनत, सीप र पेशाप्रतिको लगनशीलता जिम्मेवार हुने गरेको पाइयो । समग्रमा हेर्दा बटुक बेच्ने व्यक्तिहरूको शैक्षिक अवस्था त्यति राम्रो देखिँदैन यद्यपी उनीहरूले आफ्नो परिवारको शैक्षिक अवस्थामा राम्रो सुधार गरेको पाइयो ।  वास्तवमा बटुक व्यवसाय मार्फत सबै व्यवसायीहरूले आफ्नो परिवारका सदस्यहरूलाई बोर्डिङहरुमा समेत आफ्ना छोराछोरी पढाएको देखिन्छ जहाँ केही धनी परिवारका व्यक्तिहरूले पढ्ने गर्दछन् भन्ने मान्यता आम रुपमा रहेको छ । कतिपयले आफ्ना छोराछोरीहरूलाई उच्च शिक्षा समेत दिलाउन सकेका छन भने सरकारी जागिरेहरूको रुपमा स्थापित गरेका छन् त कतिपयले युरोप जस्ता राम्रा देशहरूमा आफ्ना परिवारका सदस्यहरूलाई रोजगारीमा पठाउन सकेका छन ।

निष्कर्षः
बर्तुङमा बटुक बेच्ने चलन बाटो निर्माण भएसंगै र बुटवल नुन किन्न जाने बटुवाहरू चोकमा भारी बिसाउने र नास्ता खाने गर्दा देखि नै सुरुवात भएको देखिन्छ । आफ्नो परम्परागत कृषि र पशुपालन पेशाबाट जीवन निर्वाह गरन समेत कठिनाई भइरहेको अवस्थामा, मगर समुदायको सांस्कृतिक उत्पादन, खानाको मौलिक परिकार बारा अर्थात बटुक बेचेर आफ्नो जीविकोपार्जन सहज बनाउन सकिन्छ भनेर नविन पेशा अवलम्बन गरेको विषयप्रति आधारित रही यो अधययन प्रतिवेदन तयार भएको छ । पाल्पा मगर बाहुल्य भएको जिल्ला हो । मगरहरूको विभिन्न पूजाआजा, कुलपूजा, पितृकर्महरूमा बारा खाने चलन पुरानो र अनिवार्य जस्तै भएको सामाजिक अवस्थालाई मध्यनजर गरी यो पेशामार्फत राम्रो आम्दानी गर्ने सकिने स्थिति छ । सिदार्थ राजमार्गमा कुनै पसल दर्ता नगरी अनौपचारिक रूपमा बुटवल हुदैं पोखरातर्फ जाने गाडीमा सवार यात्रीलाई लक्षित गरी दिनमा बिहान ६ बजे देखि साँझ ५ बजेसम्मको समयमा दैनिक बटुक बेचेर आम्दानी हासिल गरेको र जसमार्फत जीविकोपार्जन गरी सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वस्थगत लक्ष्यहरू सजिलै हासिल गर्न सकिन्छ ।

गाडीमा सवार यात्रुहरूलाई मनोवैज्ञानिक रूपमा किन्न तयार गर्न सक्नु, कडा र नियमित मेहेनत गर्नु,, कर्ता सिर्जनशिलता हुनु, सामाजिक सम्बन्ध स्थापित गर्नु, स्थानीय पसलेहरूसंग मिलेर बस्नु, र फरक स्वाद सहितको खाने परिकार बेचेर कसरी गैर परम्परागत पेशा अवलम्बन गरी यात्रुहरूको मन जित्न सफल भएका छन ।

आफ्नो आम्दानी वृद्धि गर्न सकेका छन । यसमार्फत परम्परागत मात्र नभई गैरपरम्परागत सिर्जनशील पेशाहरू अवलम्बन गर्नाले आम्दानीमा बढोत्तरी हुनुका साथै दर्ता नगरी व्यवसाय संचालन गर्नु जोखिमपूर्ण समेत हुने देखाइएको छ ।

मगर समुदाएको खाजाको मौलिक र विशेष परिकार बारा अर्थात चल्तिको नाम बटुक भएको साथै बटुक बनाउन दालको रूपमा स्थानीय उत्पादन झिलिंगे र तेलको रूपमा बंगुरको बोसो प्रयोग गरिने तर आजभोली आयातित तेलका साथै दालको रूपमा केराउ प्रयोगले स्थान ओगटेको छ । तमाम चुनौतीको सामना गर्दै जीविकोपार्जनमा बटुक पेशा सहयोगी भएको देखिन्छ ।

 

 

 

 

 

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको