तानसेन। वर्षासंगै खसेको पहिरोका कारण तानसेन बुटवल सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन्।
निरन्तरको वर्षासंगै सोमबार बुलुका ८ बजे खसेको पहिरो पन्छाउन नसक्दा सडक खुलाउन समस्या भएको हो । सिद्धबाबा सुरूङ्गमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार चट्टान र लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भएको हो। अहिले पनि सो क्षेत्रमा पानी परिरहेको हुँदा वर्षा रोक्किएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने सूचना अधिकारी ज्ञवालीले बताइन् ।
पानी पर्नासार्थ ढुंगा र पहिरो खस्ने क्रम बढ्ने हुँदा सो खण्डको अन्य क्षेत्रमा पनि सडक अवरुद्ध हुने र सुलाउने कार्य हुँदै आएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिँडेका सयौं सवारीसाधन सडकमै अलपत्र परेका छन् ।





















