१. वडामा सडकको पहुँच विस्तारमा कस्ता काम गर्नुभएको छ ?
सडकको पहुँच विस्तारका लागि मुख्य प्राथमिकतामा राखिएका तीन सडकको स्तरोन्नति गरी बस चल्न सक्ने बनाइएको छ । अगाखोला–चिदीपानी–यामकुना–फेदी–झडेवा, बिरौटा–धैरेनी–रुमलडाँडा–बिहादी–अगाहाखोला, जाउपोखरा–बुढीकोट–बधवारी वडाका प्रमुख सडक हुन । यसका साथै, दोहोरा–बाहाखोक–भुटुके–खुमडाँडा सडक पनि स्तरोन्नति गरिएको छ । यी मुख्य सडकबाहेक शाखा र टोलका बाटाहरू पनि निर्माण गरिएको छ । सडकको पहुँचलाई सहज बनाउन विभिन्न ठाउँमा पुल र कल्भर्ट पनि बनाइएको छ । तीमध्ये बधवारी पक्की पुल, फेदी तिनाउखोला बक्स कल्भर्ट, फेदी भिखोक खोला पुल, दोहोरा ट्रस्ट पुल, बाहखोक खोला बक्स कल्भर्ट र अगाहाखोला ट्रस्ट पुल प्रमुख छन् ।
२. उज्यालो वडा बनाउन के काम गर्नुभयो ?
वडालाई उज्यालो बनाउनका लागि विभिन्न कामहरू गरिएको छ । १४० वटा काठका पोलमध्ये ८० वटालाई आइरन पोलले विस्थापित गरिसकिएको छ । साथै, स्यारखोक फेदीमा हाइटेन्सन लाइनसहित ट्रान्सफर्मर जडान गरिएको छ । ढकालकुनादेखि दोहोरा सोलेसम्म नयाँ विद्युत् हाइटेन्सन लाइन विस्तार गरिएको छ । विद्युत् सेवा नपुगेका चिसापानी, स्यारखोक, अर्पिडाँडा र कुनाबारी क्षेत्रका केही छुटेका बस्तीहरूमा पनि विद्युत् विस्तारको काम भइरहेको छ ।
३. सिँचाइको अभावमा पिल्सिरहेका नागरिकलाई कसरी सहयोग गर्नुभएको छ ?
सिँचाइको अभावलाई कम गर्न विभिन्न योजनाहरू सञ्चालन गरिएको छ । अगाखोला फाँटमा सिँचाइका लागि सेराटारी सिँचाइ योजना र छबिसे कुलो निर्माण गरिएको छ । माडी क्षेत्रमा कुनाबारी सिँचाइ कुलो र आमटारी आल्मे भाटी कुलो निर्माण गरिएको छ, जसलाई हाल पचासे रहसम्म विस्तार गर्ने काम भइरहेको छ । यसका अतिरिक्त, फेदी, आल्मे, दोहोरा, ढकालकुना, बाहाकोक र कुनाबारी क्षेत्रमा कृषि प्रयोजनका लागि स्यालोट्युबवेल जडान गरिएको छ ।
४. कृषि र पशुपालन क्षेत्रमा वडाबाट उल्लेखनीय काम के गर्नुभएको छ ?
कृषि र पशुपालनको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ । भन्ज्याङपोखरा कृषि सहकारी संस्थाको समन्वयमा तरकारी पकेट क्षेत्र कार्यक्रम दुई वर्षसम्म सञ्चालन गरिएको छ । किसानहरूलाई उत्पादनमा आधारित अनुदान दिइएको छ । टमाटर खेती गर्न चाहने किसानलाई पूर्ण अनुदानमा टनेल उपलब्ध गराइएको छ । बंगुर पाल्न इच्छुक किसानलाई फर्म दर्ता गरेमा ३ वटा बंगुरको बच्चा उपलब्ध गराउने, १० वटा बाख्रा पाल्ने किसानलाई खोर निर्माणमा ५० प्रतिशत अनुदान दिने, २ भन्दा बढी भैंसी पाल्ने किसानको गोठ सुधारमा ५०प्रतिशत अनुदान उपलब्ध गराउने कार्य सम्पन्न भयो । यसका साथै, चिदीपानीको उत्तरी भेगमा सुन्तला र कागतीको पकेट क्षेत्र बनाउन बिरुवा रोपण कार्यमा सहयोग गरिएको छ भने दक्षिण भूभागमा आँप र लिचीको पकेट क्षेत्रको कार्यक्रम अगाडि बढाइएको छ ।
५. पर्यटन विकासमा केही काम गर्नुभएको छ ?
पर्यटन विकासका लागि पनि काम गरिएको छ । १२३ घर मगर बसोबास रहेको धैरेनी गाउँमा मगर होमस्टे निर्माण प्रक्रिया सुरु गरिएको छ । खागुचे गुफाको प्रचारप्रसार र त्यहाँसम्म पुग्ने पैदल मार्ग निर्माणको काम सुरु गरिएको छ । बाजबारीडाँडा, चौरेपोखरा, बुढीकोट, र धैरेनीलाई समेटेर संयुक्त पर्यटन विकास कार्यक्रम अगाडि बढाइएको छ ।
६. स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच कसरी विस्तार गर्नुभयो?
स्वास्थ्यको पहुँच विस्तार गर्नका लागि धैरेनी र जाउपोखरा जस्ता दुर्गम क्षेत्रमा धैरेनी सामुदायिक इकाइ केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बुढीकोट र अर्पिडाँडामा थप गाउँघर क्लिनिक सञ्चालन गरिएको छ । जेष्ठ नागरिकहरूको घरमै उपचारको प्रबन्ध गरिएको छ र स्वास्थ्य चौकीमा पर्याप्त औषधि र ल्याब सेवालाई प्रभावकारी बनाइएको छ ।
७. वडाको शिक्षा क्षेत्र कसरी सुधार गर्नुभयो ?
शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कामहरू भएका छन् । चिदीपानीभित्रका ६ वटा विद्यालयका शिक्षकहरूलाई उत्प्रेरणा तालिम दिइएको छ । मर्ज हुने अवस्थामा पुगेको ज्ञानोदय आधारभूत विद्यालयलाई नयाँ स्थानमा सारेर विद्यालयको स्थायित्वका लागि काम गरिएको छ । यहाँ राष्ट्रिय शैक्षिक सुधार र जापानीज समाजसेवी ओके बाजीको सहयोगमा चार–चार कोठे पक्की भवन निर्माण गरी भवन व्यवस्थापन गरिएको छ । २ जना शिक्षक दरबन्दीलाई बढाएर ९ जना पुर्याइएको छ र ५ जना विद्यार्थीबाट बढाएर करिब २०० जना पुर्याइएको छ । यस वर्ष पनि अपुग भवन निर्माणका लागि प्रदेश सरकारसँग पहल गरी २० लाख बजेट छुट्याइएको छ ।
यसैगरी, जाउपोखरा आ.वि, आदर्श आ.वि, नवजागृत प्रा.विमा घेराबार र टाइलिङको काम पूरा गरिएको छ भने भूपति प्रा.विमा टाइलिङको काम भइरहेको छ । पाल्पाको एक मात्र इलेक्ट्रिकल इन्जिनियरिङ पढाइ हुने सौग्य मा.विको कम्प्युटर ल्याब र छात्रावासको व्यवस्थापन गरिएको छ । थप कक्षाकोठा र छात्रावासका लागि १७ कोठे भवन, बस र हल निर्माणका लागि भारतीय दूतावाससँग पहल गरिएको छ ।





















