चुल्होदेखि जागिरसम्मः पाल्पाका महिलाहरू

पाल्पा । जिल्लाको पश्चिम भेगमा रैनादेवी छहरा गाउँपालिका बडा न५,मुझुङगमा एउटा सानो गाउँ, दहचोक । सोही गाउँमा वस्नुहुन्छ पैतालीस वर्षकी पदमा कार्की । बिहानको झुल्के घामसँगै पदमाको दैनिकी सुरु हुन्छ। धेरैका लागि बिहानको समय चिया र आरामको क्षण होला, तर पदमाका लागि यो समय धेरै कामको लागि परीक्षा जस्तै बनेको छ । एक कुशल गृहिणीको रूपमा पदमाको बिहान निकै व्यस्त रहन्छ । भान्छाको काम, सरसफाइ र परिवारका सदस्यहरूको आवश्यकता पूरा गर्नु उहाँको पहिलो प्राथमिकता रहन्छ ।

गाउँले जीवन घर र खेतीपाती तथा पशुपालनका हेरचारका स–साना कामहरू पनि जोडिएका हुन्छन् । “घर बलियो भए मात्र बाहिर निस्केर ढुक्कले काम गर्न सकिन्छ,” भन्ने मान्यता राख्ने पदमाले घरको जिम्मेवारीलाई कहिल्यै बोझ ठान्नुभएको छैन । पदमा मुझुङग स्वास्थ्य चौकीकी सिनियर अनमी समेत हुनुहुन्छ घरको काम सकेपछि अफिसको काम शुरु हुन्छ । अफिसको लागि आफ्नो सेतो कोट लगाउनुहुन्छ । उहाँ एक ‘सिनियर अनमी’को भूमिकामा रुपमा उदाउनु भएको छ । पश्चिम पाल्पाको रैनादेवी छहरा जस्तो पहाडी भूगोलमा स्वास्थ्य सेवा पुरयाउनु सहज त्यति सजिलो छैन ।

महिनाको ६ दिन फिल्ड हिड्न परयो । ३ दिन गाउँघर क्लिनिक, ३ दिन खोप क्लिनिकमा सहभागी हुन परयो। पदमाले वर्षौँदेखि गर्भवती महिलाहरूको सुरक्षित मातृत्व जाँच, खोप तथा नेपाल सरकारका विभिन्न अभियानहरूमा पनि सक्रिय सहभागिता जनाइरहनु भएको छ । गाउँका कुना–काप्चासम्म पुगेर स्वास्थ्य परामर्श, बिरामीहरूको प्राथमिक उपचार र परामर्श गर्ने कला उहाँको भिन्न छ ।

नियमित रुपमा मातृ शिशु जाँच गर्न आउनेहरु नआएपनि उहाँ सम्र्पक गरी बोलाईहाल्नुहुन्छ । उहाँको मिजासिलो शैली र सेवाप्रतिको लगावका कारण स्थानीयहरू उनलाई केवल स्वास्थ्यकर्मी मात्र होइन, एउटा भरोसायोग्य अभिभावकका रूपमा समेत हेर्छन्। एक महिलाका लागि सरकारी सेवा र घरायसी कामको सन्तुलन मिलाउनु ‘अगेनाको ओदान’ जस्तैहो। कहिलेकाहीँ रातको समयमा सुत्केरी केस आउँदा होस् वा महामारीको समयमा अतिरिक्त खटिनुपर्दा, उनले आफ्नो व्यक्तिगत सुखलाई कहिल्यै अघि सार्नुभएन ।

उहाँ भन्नुहुन्छ “इच्छाशक्ति भएमा एउटा हातले घरको चूल्हो र अर्को हातले समाजको स्वास्थ्यलाई थाम्नु असम्भव छैन ।” उहाँको माइती गाउँ पहेँलेमा कक्षा १० सम्म अध्ययन पुरा गर्नुभयो । विस २०४६ सालमा अर्घाखाँचीको पोखराथोकबाट एसएलसी उत्तीर्ण गर्दा पदमाको मनमा समाज सेवाको सानो अंकुर पलाएको थियो । त्यही सपनाले उनलाई आज स्वास्थ्य सेवाको छैठौँ तह (अधिकृत) सम्म पु¥याएको छ । उहाँको योग्यता र कार्यदक्षताले उहाँलाई चौथो तहबाट छैठौँ तहको अधिकृतसम्म पुरयाएको छ।“कामप्रतिको इमानदारिता नै मेरो सफलताको कडी हो,“ उहा भन्नुहुन्छ ।

२०४७ साल असारको ३ गते उहाँको विवाह मुभुङका ज्ञान बहादुर कार्कीसँग भएको हो । विवाहको खुसीयाली साट्न नपाउँदै विवाहको एक महिनामै सासुको निधन भयो । साना नानीबाबुहरूको हेरचाहको जिम्मेवारी पदमाको काँधमा आइलाग्यो “एकातिर जागिरमा जानुपर्ने, अर्कोतिर साना नानीबाबुहरू घरमा थिए,” पदमा ती दिन सम्झिँदै भावुक बन्नुहुन्छ।

त्यो समयमा उहाका श्रीमान भू–संरक्षणमा कार्यरत हुनुहुन्थ्यो । तर, नानीबाबुको भविष्य र पदमाको जागिरलाई निरन्तरता दिन उहाँले आफ्नो जागिर त्यागेर घरको जिम्मेवारी सम्हाल्ने साहसी निर्णय गर्नुपरयो । श्रीमानले घर र नानीबाबु सम्हाल्नुभयो भने पदमाले जागिर र आर्थिक जिम्मेवारी । पदमाले सरकारी सेवाको कमाइ र श्रीमानले घरमा बसेर नानीबाबुलाई दिएको संस्कारले अहिले सुखद फल दिएको छ ।उहाँका दुई छोरीहरू अहिले बैंकमा जागिरे छन् र उनीहरूको घरजम समेत भइसकेको छ छोरा उज्ज्वल भविष्य खोज्दै हाल जापानमा छन् ।

“मैले कमाएको पैसा नानीबाबुको शिक्षादीक्षामा खर्च भयो, उनीहरू अहिले आफ्नो खुट्टामा उभिएका छन्,” उहाँगर्वका साथ भन्नुहुन्छ । हिजोका ती संघर्षका दिनहरू सम्झँदा अहिले उहाँलाई एउटा सफल युद्ध जितेको महसुस हुन्छ।अहिले उहाँले केही पैसा बैठकमा बचत गरेको बताउनुभयो ।

यसैगरी पाल्पाको पूर्वखोला गाउँपालिका ४, देवीनगरस्थित मुन्टुङमा रहेको भीमसेन प्राथमिक विद्यालयको दृश्य अहिले फेरिएको छ । कुनै समय विद्यार्थी संख्या न्यून भएर अस्तित्व संकटमा पर्न लागेको यो विद्यालयमा अहिले बालबालिकाको चहलपहल मात्र बढेको छैन, अभिभावकको विश्वास पनि चुलिएको छ । यस परिवर्तनको मुख्य श्रेय जान्छ विद्यालयकी प्रधानाध्यापक राधा सिकेलाई । राधाले विद्यालयको नेतृत्व सम्हाल्नुअघि जम्मा २५ जना विद्यार्थी अध्ययनरत थिए।

विद्यालय सेवा क्षेत्रभित्रका बालबालिकाहरू टाढाका अन्य विद्यालयमा जान्थे । तर, तीन वर्ष अघि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाएसँगै ठूलो परिर्वतन देखिएको हो । राधाको कडा मिहिनेत र व्यवस्थापकीय कुशलताका कारण अहिले विद्यार्थी संख्या बढेर ६२ पुगेका छन् । अहिले कक्षा ५ सम्म र नर्सरीका बालबालिकाहरू बाहिर जानुको साटो आफ्नै गाउँको यसै विद्यालयमा रमाउन थालेका छन् ।

राधाको नेतृत्वमा ४ जना शिक्षक र २ जना बालविकास सहजकर्ता कार्यरत छन्। उहाँको खटन र विद्यालयप्रतिको समर्पण देखेर स्थानीय अभिभावकहरू निकै खुसी छन् । विद्यालयको गतिविधिमा अभिभावकको सहभागिता पनि लोभलाग्दो छ । दिवा खाजा बनाउन अभिभावकहरू स्वयं विद्यालय पुग्छन् । प्रधानाध्यापक राधा भन्नुहुन्छ “साढे नौ बजे नै विद्यालय पुगेर सबै शिक्षकहरू सक्रिय हुनुपर्छ ।

विद्यालयको प्रशासनिक कामदेखि तलब मागका लागि अनलाइन प्रणालीको कामसमेत घरैबाट गरेर भए पनि विद्यालयलाई व्यवस्थित बनाउन जुटेकी छु ।” राधा काफलडाँडामा आमाबुबासँग बस्दै आउनु भएको छ राधाका दुई दाइ र दुई भाइ छन् । सुरुमा लोकसेवाको तयारी गरिरहनु भएकी उहाँले शिक्षक सेवा आयोगको परीक्षा दिनुभयो र पहिलो प्रयासमै नाम निकाल्न सफल हुनुभयो ।

आजभन्दा सात वर्षअघि प्रावि तहको शिक्षक बन्नुभयो। जागिरले उहााँलाई आत्मनिर्भर मात्र बनाएको छैन, समाजसेवा गर्ने अवसर पनि दिएको छ । “जागिर भएपछि आर्थिक रूपमा सक्षम भइयो, अरूलाई सहयोग गर्न र केही बचत गर्न पनि सफल भएकी छु” उहाँले खुसी व्यक्त गर्नुभयो ।

एक कुशल शिक्षिका मात्र नभई उहाँ घरको सरसफाइ र घरायसी काममा पनि उत्तिकै ध्यान दिनुहुन्छ । बिहान आमाले खाना बनाउन सहयोग गरे पनि उहाँ घरको जिम्मेवारी र सामाजिक कामलाई सँगसँगै अगाडि बढाइरहनु भएको छ ।

दलित समुदायकी यी छोरीको सघर्ष र सफलता अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । संविधानसभा सदस्य तुल्सा रानाका अनुसार नेपाली महिलाहरु घर र कार्यालयको दोहोरो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका छन् । महिलाहरुले विहान उठेदेखि राती नसुत्दासम्म घरासी काम ब्यस्त रहने र दिउँसो जागिर वा व्यवसायिक जीवनमा पनि उत्तिकै सफल देखिएको रानाको भनाई छ ।

महिलाहरुले जागिरबाट मासिक निश्चित आम्दानी हुन्छ । यसलाई सफलतासँग मापन गरिन्छ ।तर, उनीहरुले घरभित्र काम गरिरहेका हुन्छन्, जसको आर्थिक र सामाजिक मूल्यांकन हुनै सकेको छैन् । महिलाहरुले घरायसी कामको मुल्यांकन गर्ने परिपाटीको विकास हुन पनि जरुरी रहेको रानाको भनाई छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको