भैरवस्थानको पर्यटन विकासमा लाग्नेछुः घर्ती

तानसेन। जिल्लाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मसुरेमा गठबन्धनको घरदैलो तथा चुनावी सभा भएको छ । सभामा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्ती मगरले यस क्षेत्रको पर्यटन विकास र आयस्तर वृद्धिमा लाग्ने बताएका छन् ।

रिब्दीकोटको विकास निर्माणमा आफू पहिलो पटक निर्वाचित भएपछि धेरै काम गरेको बताउँदै बाँकी कामहरु सम्पन्न गर्नको लागि पुनः आफूलाई मत दिन उनले आग्रह गरेका छन् ।

उनले यस क्षेत्रमा रहेको खानेपानी, यातायात, सिंचाई लगायतको समस्या समाधानमा आफूले काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । एक घर एक धारा, सिंचाई सहित गाउँमै स्वरोजगार र आयआर्जन बढाउनको लागि कृषि, पशुपालन लगायतका क्षेत्रमा दीर्घकालिन गुरुयोजना बनाएर काम गर्ने घर्ती मगरले बताए ।

निवर्तमान सांसद हुँदा प्रदेश सरकारबाट रिब्दीकोटको भैरवस्थान, खस्यौली, देउराली लगायतका विभिन्न वडाहरुमा करोडौंको बजेट विनियोजन गरेको उनले बताए । घर्तीले भने ‘ति योजनाहरु कतिपय सम्पन्न भइसकेका छन्, कतिपय कार्यान्वयनको चरणमा रहेका छन् भने कतिपयलाई पूरा गर्नुपर्ने छ । ति योजना पुरा गर्नकै लागि म फेरी उम्मेदवारी दिएको हुँ ।’

रिब्दीकोटको भैरवस्थान मन्दिर पर्यटकीय क्षेत्रले उत्कृष्ठ गन्त्वय बनाउने भन्दै नेता घर्तीले यहाँका अन्य क्षेत्रमा समेत पर्यापर्यटन विकास र जनताको आयस्तर वृद्धिमा लाग्ने बताए ।

उनले माओवादीको दशवर्षे जनयुद्ध,२०६२÷६३ को आन्दोलन लगायतका आन्दोलनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकाले अवस्था परिवर्तनका लागि आफूहरुले गठबन्धन गरिएको बताए । कार्यक्रममा गठबन्धनमा आवद्ध दलका नेताहरुले समेत अहिले गठबन्धनमा मत दिन जनतलाई आग्रह गरे ।

उनीहरुले पहिले एमालेलाई दुईतिहाइ मत दिएपनि जनमत कुल्चेर फालेका कारण अहिलेको गठबन्धन भएको बताए ।

तपाईको प्रतिक्रिया